२०८० साउन ६ गते शनिवार
२०८० साउन ६ गते शनिवार

कोरोनाको दोस्रो लहरले बढाएको जोखिममा सरकार मुख्य जिम्मेवार छ : सभापति देउवा

नेपाली कांग्रेसमा सभापति शेर बहादुर देउवाले कोरोनाको दोस्रो लहरले बढाएको जोखिममा सरकार मुख्य जिम्मेवार रहेको बताएका छन्। सरकारले कोरोना न्युनिकरण गर्न चरम लापरही, असंवेदनशीलता र अकर्मण्यता देखाएको बताएका हुन्।

शुक्रबार आफ्नै निवास बूढानीलकण्ठमा कोभिड–१९ को माहामारी रोकथाम र उपचारका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले कोरोनाको संक्रमणसँगै आइसियू बेड, भेन्टिलेटर र अक्सिजनको टड्कारो अभाव देखिन थालेको र यो सरकारले विगतका गल्तिहरुबाट पाठ सिक्न नसकेको बताए।

‘अधुरा कामलाई नै पूरा भएको भन्दै उद्घाटन, भिडभाड र तडक-भडकमा मग्न ओली सरकारले संक्रमण रोक्ने कुनै ठोस काम नगरेकोले फेरि लकडाउन गर्ने स्थितिमा पुगेको छ। सरकारले काठमाडौं उपत्यका लगायतका ठाउँहरुमा १५ दिने लकडाउन लगाउने निर्णय गरेपछि कोभिड-१९ परीक्षण नगरी उपत्यका छोड्ने समय दिएर लाखौं मानिसहरु संक्रमित जिल्लाहरुमा पुगेका छन्‌।
सरकारको यस्तो निर्णयले संक्रमण कम भएका ठाउँहरुमा समेत व्यापक संक्रमण बढ्ने खतरा बढेको छ’, देउवाले पत्रकार सम्मेलनमा भने, ‘कोभिड(१९ को बढ्दो संक्रमणका कारण जनताले भोगिरहेको समस्याबाट पार पाउन संक्रमण रोकथाम र उपचारको समुचित प्रबन्ध मिलाई लकडाउनको समयलाई पूर्णरुपमा सदुपयोग गरी तत्काल निम्न काम गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ।’

कोभिड-१९ संक्रमितहरुको उपचारका लागि अत्यावश्यक अक्सिजन र भेन्टिलेटरको यथेष्ट आपूर्ति तत्काल सुनिश्चित गर्न उनले सरकारसँग माग गरेका छन्। ‘कोभिड-१९ संक्रमितहरुलाई आवश्यक अस्पताल बेड, आइसियु वेड लगायतका स्वास्थ्य पूर्वाधार, अत्यावश्यक औषधि र अन्य आवश्यक स्वास्थ्य सामग्रीहरुको तत्काल समुचित व्यवस्था गरियोस्‌। देशका सम्पूर्ण जिल्लाहरुमा कन्ट्याक ट्रेसिङ प्रभावकारी बनाई सम्भावित संक्रमितहरुको पिसिआर परीक्षणलाई व्यापक गर्न म आग्रह गर्दछु।’

स्वास्थ्यकर्मी, सफाईकर्मी र बीमा र जोखिम भत्ता तत्काल भुक्तानी गर्नपनि सभापति देउवाले माग गरेका छन्। ‘बढ्दो संक्रमणसँगै स्वास्थ्य जनशक्तिको अभाव देखिएकाले अस्पतालहरुमा थप स्वास्थ्य जनशक्तिको व्यवस्था गर्न सरकार चुकेको छ’,उनले भने,’लकडाउनका कारण आर्थिक सामाजिक मारमा परेका आम नागरिक, श्रमिक र साना व्यवसायीहरुलाई आवश्यक राहत र सहयोगको कार्ययोजना ल्याउन माग गर्दछु।’