तस्वीर : पत्रकार नरेन्द्र के.सी.
गर्मीयाम सुरु भएसँगै दाङको सदरमुकाम घोराही उपमहानगरपालिकाको पर्यटकीय गाउँ घोरदौरामा खानेपानीको हाहाकार भएको छ । घोरदौराबासी गाउँदेखि धेरै टाढा पैदल हिँडेर पानी लिन जान्छन् । घण्टौँको बाँटो हिडेर पानी ल्याएर खानुपर्ने घोरदौराबासीको बाध्यता छ । उनीहरूले अहिले एक घण्टा पैदल हिँडेर धरमपानी र कमिरेबाट ल्याएको पानी खाइरहेका छन् ।
‘एकातिर कोरोना जोखिम छ, अर्को हामीलाई खानेपानीको निकै चिन्ता छ स्थानीयवासी दीपा महराले भन्नुभयो’, ‘एक घण्टा टाढाको बाटोबाट पानी बोक्नुपर्ने बाध्यता छ । घोरदौरामा पानीको कुनै स्थायी मूल छैन ।’ ‘भूगोलका हिसाबले घोराही उपमहानगरपालिकाभित्र परे पनि उपमहानगरस्तरका कुनै पनि सेवा सुविधा हामीले प्रयोग गर्न पाएका छैनौँ । पानीले व्याकुल हुँदै घण्टौँको बाटो हिँडेर पानी ल्याएर पिउनुपर्ने अवस्थाको अन्त्य कहिले हुन्छ सरकार रु हामीलाई पानीको व्यवस्था गर्नतर्फ नगरको ध्यान किन पुग्दैन र ?’, उहाँले प्रश्न गर्नुभयो ।
अर्का स्थानीयवासी मीना पुनले घण्टौँ हिँडेर गाग्रीमा पानी बोक्दा निकै अप्ठ्यारो भएको गुनासो गर्नुभयो । त्यस्तै स्थानीयवासी दिलबहादुर घर्तीको गुनासो छ, ‘कोरोनाको पनि धेरै डर छ । दाङमा पनि दैनिक मान्छे मरिरहेका छन् । बाँच्नका लागि खानै पर्यो, हामीलाई कोरोना भन्दा पनि खानेपानीको चिन्ता छ ।’ खानेपानीको वैकल्पिक व्यवस्थापन गर्न भन्दै घोराही उपमहानगरपालिकाले अहिले घोराही बजारबाट ट्याङ्करमा पानी पठाउने गरेको छ ।