२०८० साउन ८ गते सोमवार
२०८० साउन ८ गते सोमवार

भारतमा एकैदिन तीन हजार भन्दा बढी कोरोना संक्रमितको मृत्यु

फाइल तस्वीर ।

भारतमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा तीन हजार ४१७ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा तीन लाख ६८ हजार नयाँ संक्रमित भेटिएका छन् । यो सहित भारतमा कूल संक्रमितको संख्या एक करोड ९९ लाख पुगेको छ ।
गत शनिबार दैनिक संक्रमितको संख्या चार लाख नाघेको थियो तर आइतबार केही कमी आएको छ । भारतमा कोभिड संक्रमणबाट हालसम्म दुई लाख १८ हजार ९५९ जनाको ज्यान गएको छ ।

मन्त्रालयकाअनुसार भारतमा अझै पनि ३४ लाखभन्दा बढी व्यक्ति सक्रिय संक्रमितको अवस्थामा छन् । गत २४ घण्टामा तीन लाख व्यक्ति संक्रमणमुक्त भएका छन् । यो सहित भारतमा कूल संक्रमितमध्ये १ करोड ६२ लाख संक्रमणमुक्त भएका छन् ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार, भारतमा हालसम्म २९ करोड नमुना परीक्षण गरिएको छ । आइतबार मात्र भारतमा १५ लाख नमुना परीक्षण गरिएको छ ।

भारतमा कोभिडको दोस्रो लहरले पूरै देशमा संकटको अवस्था सिर्जना गरेको छ।