लुम्बिनी प्रदेशमा विपक्षी दलका महिला सांसदहरुले आफूहरुमाथि प्रहरी प्रशासनले हातपात र दमन गरेको आरोप लगाएका छन् । सरकार गठनको विषयलाई लिएर आइतबार प्रदेश प्रमुखको कार्यालय घेराउने गर्ने क्रममा प्रशासनले आफूहरुमाथी दमन गरेको उनीहरुको आरोप छ । प्रदेश प्रमुखको कार्यालय अगाडी धर्ना बसिरहेका उनीहरुलाई त्यहाँबाट हटाउने क्रममा प्रदेश प्रहरी प्रमुख डीआईजी रवीन्द्र धानुकले महिला सांसदमाथि हातपात र दुर्व्यवहार गरेको विपक्षी दल नेपाली काँग्रे, नेकपा माओवादी लगायतका दल आवद्ध प्रदेशसभाका महिला सदस्यहरुले आरोप लगाएका हुन् ।
डीआईजी धानुकको नेतृत्वमा महिला सांसद तथा नेपाली काँग्रेसकी सचेतक निर्मला क्षेत्रीसहित प्रदेश सभा सदस्यहरु फूलमति ढेगा, लौटी थारु, सुष्मा यादव, पुष्पा थरुनी, गीता थापामाथि हातपात भएको भन्दै उनीहरुले सोमबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी कारबाहीको माग गरेका छन् ।
नेकपा माओवादी केन्द्रका सांसद दामा शर्माले प्रहरी प्रमुखले प्रदेश प्रमुखको कार्यालयमै महिला हिंसा गरेकाले आफूहरुले कानूनी उपचार खोज्ने बताइन् । मुख्यमन्त्रीको सपथ रोक्न धर्नामा बसेका महिला सांसदमाथि प्रदेश प्रहरी प्रमुख धानुकले बल प्रयोग र महिला हिंसा गरेकाले उनलाई निलम्बन गर्नुपर्ने नेपाली काँग्रेसका संसदीय दलका नेता वीरेन्द्र कानौडियाले बताए ।