२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

शव बाेकेकाे जीप दुर्घटना, ४ जनाकाे ज्यान गयाे

बैतडीमा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएको छ ।
से १ ज १८३ नम्बरको जीप पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ को गणमेस्रमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरिशरण भट्टले जानकारी दिनुभयो । साेमवार (हिजो) चट्याङ लागेर ज्यान गुमाएका पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोस्टमार्टमका लागि लिएर सदरमुकाम जाँदै गरेको जीप दुर्घटनामा परेको प्रहरी निरीक्षक भट्टले जानकारी दिनुभयो ।

जीप दुर्घटनामा ज्यान गुमाउनेहरूमा वडा नम्बर ६ कै जीतसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिक्मत भण्डारी र दीपक भण्डारी रहेका प्रहरीले जनाएको छ ।