कोरोना विशेष अस्पताल बेलझुन्डीमा बुधबार एकैदिन चार कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालमा उपचारको क्रममा बबई गाउँपालिका ४ का ४० वर्षीय पुरुष, घोराही उपमहानगरपालिका ९ का ६५ वर्षीय पुरुष, घोराही १५ का ६५ वर्षीय पुरुष र घोराही १८ की ४५ वर्षीया महिलाको मृत्यु भएको हो ।
चारैजना कोरोना र निमोनियाबाट प्रभावित भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए । अस्पतालमा अक्सिजन अभाव भएका कारण बिरामीलाई बचाउन कठिन भइरहेको पनि उनले बताए । १ सय शय्याको अस्पताल भए पनि अक्सिजन अभावमा ५७ जना मात्रै बिरामी राखिएको उनले बताए । थप बिरामी राखिदिन निरन्तर दबाब आए पनि अक्सिजन अभावका कारण राख्न नसकिएको उनको गुनासो छ । अक्सिजन अभावमा बिरामी राख्नु भनेको जानाजान बिरामीको ज्यान जोखिममा पार्नु भएकाले यसमा अनावश्यक दबाब सिर्जना नगर्न उनले अनुरोध गरेका छन् । अक्सिजनको तत्काल व्यवस्था गरिदिन उनले मन्त्री, सांसद्, स्थानीय सरकार, नेता, समाजसेवीलगायतलाई सार्वजनिक रुपमै आह्वान गरेका छन् ।