तुलसीपुरमा अटो एम्बुलेन्स संचालनमा आएका छन् । जिल्लामा कोरोना संक्रमण रोकथाम तथा न्युनिकरणका लागि गरिएको लकडाउनका कारण बिरामीले पछिल्लो समय सहजरुपमा एम्बुलेन्स सेवा पाउन नसकिरहेको समयमा अस्पताल पुग्न सहजताका लागि अटो एम्बुलेन्स संचालन गरिएको हो ।
विपन्न नागरिकले सुलभ भाडादरमा बिरामीलाई अस्पताल लैजान/ल्याउन सहजताका लागि अटो एम्बुलेन्स संचालनमा ल्याएको अटो एम्बुलेन्स संचालन अभियानका संयोजक मोहन सुनारले जानकारी दिनुभयो ।
उहाँसहित तुलसीपुरका चार जना युवा दिपक कुमाल, सुनिलबावु डाँगी र अजय दुलालले संयुक्तरुपमा अटो एम्बुलेन्स संचालनको अभियान शुभारम्भ गर्नुभएको हो । अटो एम्बुलेन्सले तुलसीपुरका आसापासको क्षेत्रमा सेवा दिने र साविकमै लाग्दै आएको भाडा लिने अभियानका संरक्षक दिपक कुमालले जानकारी दिनुभयो ।
तुलसीपुरमा अहिले तत्कालका लागि ८ वटा एम्बुलेन्सले बिरामीलाई यातायात सेवा प्रदान गर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार दिउँसोको समयमा पाँच वटा र साँझको समयमा तीन वटा अटोले सेवा प्रदान गर्ने छन् ।
आवश्यकताको आधारमा अटोहरु थप गर्दै लगिने संरक्षक कुमालले बताउनुभयो । अटोमा स्वास्थ्य सुरक्षाका लागि तोकिएका मापदण्ड पूर्णरुपमा पालना हुने उहाँले बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकासंगको समन्वयमा अटो एम्बुलेन्स संचालनमा आएको हो ।