पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका नेता गगन थापाले अरू सबै कुरा छाडेर अक्सिजनको व्यवस्थापन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्। अक्सिजनको अभावमा कोरोना संक्रमित बिरामी र उनीहरूका आफन्तले दुःख पाएको उल्लेख गर्दै थापाले अक्सिजन आपूर्ति तथा वितरणको गाँठो फुकाउनसमेत प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
मंगलबार एक भिडिओ जारी गर्दै थापाले जनताको जीवन जोगाउन तत्काल पहल गर्न अनुरोधसमेत गरेका छन्।आफूलाई अक्सिजनको व्यवस्थापनका लागि र शय्या खोजिदिन आग्रह गर्दै बिरामीका आफन्तहरूले बारम्बार फोन गरिरहेको तथा संक्रमितहरू दिनप्रतिदिन वृद्धि भइरहेकोले अक्सिजनलगायत व्यवस्थापन गर्न थापाले प्रधानमन्त्री ओलीलाई आग्रह गरेका हुन्।
‘प्रधानमन्त्रीज्यू, अक्सिजनको अभावमा बिरामी र तिनका आफन्तको छटपटी अनि अस्पतालहरू अत्तालिएर सेवा नै बन्द गर्न परेको हृदयविदारक अवस्था छ कृपया यसलाई मनन गरेर अक्सिजन आपूर्ति र वितरणको गाँठो फुकाउन र जनताको जीवन जोगाउन तत्काल पहल गर्न विनम्र अनुरोध गर्दछु,’ थापाले भनेका छन्। नेपालमा मंगलबार ९ हजार दुई सयभन्दा बढी कोरोना संक्रमित थपिएका थिए भने १३९ जनाको मृत्यु भएको थियो।