२०८१ असोज १७ गते बिहिवार
२०८१ असोज १७ गते बिहिवार

दाङ लगायत देशभर ७३ जिल्लामा निषेधाज्ञा

फाईल तस्वीर

दाङ लगायत देशभर ७३ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ। कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि ६७ जिल्लामा जिल्लाभर र ६ जिल्लामा आंशिक निषेधाज्ञा लागू भएको गृह मन्त्रालयले जनाएको छ ।

भोजपुरमा गएरातिदेखि निषेधाज्ञा शुरु भएको छ भने मुस्ताङमा आज राति १२ बजेदेखि निषेधाज्ञा शुरु हुँदैछ । गृह मन्त्रालयका अनुसार मनाङ, रुकुमपूर्व, तेह्रथुम र खोटाङले निषेधाज्ञा लागू गरेका छैनन् । निषेधाज्ञाकै बीच सङ्क्रमण भने बढिरहेको छ ।

नेपालमा यही बैशाख ७ गतेदेखि निषेधाज्ञाको आदेश लागू गरी नियन्त्रणको प्रयास भएको थियो । बैशाख १६ गतेदेखि भने आदेश लागू गर्ने क्रम तीव्र भएको थियो । एक महिनाको अवधिमा देश नै ठप्प हुनेसम्मको अवस्थामा पुगेको छ । नेपालमा पछिल्लो हप्ताको तथ्याँक विश्लेषण गर्दा कोरोना संक्रमितको सङ्या ५१ प्रतिशतले बढिरहेको छ ।

भारतभन्दा नेपालमा संक्रमण र मृत्युदर निकै बढी रहेको स्वास्थ्य मन्त्रालयको सरुवा रोग विशेषज्ञ डा अर्चना श्रेष्ठले जानकारी दिनुभयो । नेपालमा प्रति १० लाखमा तीन सय चार जना र भारतमा प्रति १० लाखमा दुई सय ४० मात्रै सङ्क्रमण दर रहेको छ । यस्तै नेपालमा प्रति १० लाखमा ३ दशमलव ३ जनाको ज्यान गइरहेको छ भने भारतमा प्रति १० लाखमा दुई दशमलव पाँच जनाको ज्यान गइरहेको छ ।