शान्तिनगर गाउँपालिका प्रवक्ता रवि बुढाथोकीले गाउँपालिकाले संचालनमा ल्याएको आइसोलेसनमा अक्सिजन सिलिण्डर सहज आपुक्ति हुन नसकेको बताएका छन् । अक्सिजन अभावमा संक्रमित विरामी छटपटाई रहेको भन्दै अक्सिजन सिलिण्डर सहज आपुर्तिका लागि सरकारले सहज वातावरण मिलाइदिन आग्रह गरेका छन् ।
शान्तिनगर गाउँपालिकाले धनौरी स्वास्थ्य चौकीमा अक्सिजन सहितको आइसोलेसन संचालन गरेको छ । दाङका १० वटा पालिका मध्ये शान्तिनगरले सबै भन्दा अगाडि अक्सिजन सहित आइसोलेसन संचालन गरेर संक्रमित विरामीको उपचार गर्दै आएको छ । गाउँपालिकाले संचालन गरेको आइसालेसनमा अक्सिजन अभाव हुदै आएको छ । यस्तै कोरोना परिक्षण गर्नका लागि आवश्यक एन्टिजेन किटको पनि अभाव रहेको छ ।
आइसोलेसनमा सिलिण्डर अभाव भएकै वेलामा जिल्लामा रिफिलको पनि समस्या भएको छ । शान्तिनगर गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष समेत रहेका बुढाथोकीले जिल्लामा अक्सिजन सिलिण्डर रिफिल नहुँदा जिल्ला बाहिर गएर रिफिल गर्दै आएको बताए । ‘शानितनगर गाउँपालिका संक्रमित विरामीलाई आवश्यक पर्ने अक्सिजन सिलिण्डर किन्न तयार छ’, प्रवक्ता बुढाथोकी भने, ‘अक्सिजन सिलिण्डर किन्न सरकारले सहज वातावरण बनाइदिनु पर्छ’ ।
गाउँपालिका भित्र संक्रमित विरामीको निशुल्क उपचारमा गाउँपालिका ध्यान केन्द्रित भएको भन्दै थप सहयोग गरिदिन सरकार प्रदेश, संघिय सरकारसंग प्रवक्ता बुढाथोकीले माग गरेका छन् । अहिले समयमा राजनितिक किचलो भन्दा कोरोना महाविपत्ति नियन्त्रण गर्नमा सबै एकजुट भएर लाग्न आवश्यक रहेको उनको भनाई छ । यतिवेला सरकारले कोरोना महामारी रोकथाम, नियन्त्रण र संक्रमितको उपचारमा आवश्यक पहलकदमी चाल्नुपर्ने आवश्यता रहेको बुढाथोकीले बताए।