शान्तिनगरकाे आइसाेलेसनबाट निकाे भई घर फर्कदै तस्विर : रबि बुढाथाेकी
दाङका स्थानीय तहले सञ्चालन गरेका आइसोलेसनमा उपचार पश्चात कोरोना संक्रमित निको भई घर फर्कनेको संख्या बढ्दै गएको छ । आइसोलेसनमा उपचार पछि निको भएर घर फर्कनेको संख्या बढिरहेको स्थानीय तहका स्वास्थ्य शाखा संयोजकले जानकारी दिएका छन् । दाङका १० वटै स्थानीय तहले आइसाेलेसन सञ्चालन गरेका छन् ।पछिल्लो समयमा स्थानीय तहमा सञ्चालन भएका आइसोलेसन प्रभावकारी बन्दै गएको छ । आइसोलेसनमा गरिने उपचार र एन्टिजेन विधिको कोरोना परिक्षण कारण निको हुनेको संख्या बढ्दै गएको हो । स्थानीय तहका आइसोलेसनले कोरोना परिक्षण पछि असामान्य खालकालाई आइसोलेसनमा भर्ना र सामान्य खालका संक्रमितलाई स्वास्थ्यकर्मीको परामर्श र निगरानीमा होम आइसोलेसनमा बस्दै आएका छन् ।
आज मात्र शान्तिनगर गाउँपालिकामा १८ जना डिस्चार्ज भएका छन् । आइसोलेसनमा बसेका ५ जना र होम आइसोलेसनमा १३ जना गरी एकैदिन १८ जना निको भई घर फर्केको स्वास्थ्य शाखा संयोजक हरी पुनले जानकारी दिनुभयो । संयोजक पुनका अनुसार केहि दिन अघि पनि एकै दिन १६ जना डिस्चार्ज भएका थिए । बैशाख यता शान्तिनगर गाउँपालिकामा हाल सम्म ८६ जनाले कोरोना जितेर घर फर्केको संयोजक पुनले जानकारी दिनुभयो ।
बबईकाे आइसाेलेसनबाट निकाे भएर घर फर्कदै तस्विर : प्रेम राम्जा मगर
यस्तै बबई गाउँपालिका आज ३ जना डिस्चार्ज भएका छन् । आइसोलेसनमा उपचाररत ३ जना निको भएर घर फर्केको स्वास्थ्य संयोजक हेमराज वलीले जानकारी दिनुभयो । बबई गाउँपालिकामा बैशाख यता हाल सम्म ३७ जना कोरोना संक्रमणबाट मुक्त भएको संयोजक वलीले बताउनुभयो ।