नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरलले कोरोना महामारीलाई जित्नका लागि रंग पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । चलचित्र पत्रकार संघको २२ औँ स्थापना तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र पत्रकार संघ दाङ शाखाले शुक्रबार (आज) भर्चुअल रुपमा गरेको अन्तरक्रियात्मक कार्यक्रममा बाेल्दै अध्यक्ष पोखरेलले कोरोनाको विपत्तको घडिमा नागरिकमा निराशापनि बढी देखिएकाले रंग पत्रकारिताका माध्यमबाट सकारात्मक कुरा दिनुपर्ने बताउनुभयो ।
कोरोना महामारीको बिचमा सुचना आदान–प्रदान गर्नु पत्रकारिताको धर्म भएकाले सुरक्षित र सावधानीपूर्वक काम गर्न उहाँले आग्रह समेत गर्नुभएको छ । विपदमा पत्रकार तथा संचार जगतको भूमिका महत्वपूर्ण रहेकाले राज्यले पनि पत्रकारका लागि विषेश भूमिका खेल्नुपर्ने बताउनुभयो । पेशागत सुरक्षाका लागि आफुहरु श्रमजीवीकै पक्षमा रहेको उल्लेख गर्दै उहाँले कोरोनाको विपद्का घडिमा नागरिकलाई निराश भन्दा पनि उत्साहजनक सन्देश प्रवाह गर्नु सम्पूर्ण पत्रकार तथा संचारमाध्यमलाई अनुरोध गर्नुभयो ।
त्यस अवसरमा चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौला, पूर्व अध्यक्ष एवं वरिष्ठ रंग पत्रकार शान्ति प्रिय, प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी,नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी लगायतले कोरोना महामारीमा रंग पत्रकारितालाई अझ सशक्त बनाउन सके नागरिकमा देखिएको निराशालाई केहि भएपनि कम गर्न सकिने बताउनुभयो ।
कोभिड–१९ महामारीका कारण हाल देश नै लकडाउनमा रहेकाले भौतिक उपस्थितिमा कुनै पनि कार्यक्रम गर्न सकिने अवस्था नरहेकाले संघले हरेक वर्ष गर्दै आएको सम्मान र पुरस्कारको कार्यक्रमलाई स्थगित गर्दै शुक्रबार “चलचित्र पत्रकारिता र पत्रकारको वर्तमान अवस्था“ विषयक अन्तरक्रिया गर्ने निर्णय गरेको हो ।
संघले वार्षिकोत्सबकै दिन नेपाल पत्रकार महासंघ दाङ शाखाले संचालन गरेको आइसोलेसन व्यवस्थापन तथा संचालन र पत्रकार सहायता कोषलाई ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ ।
त्यस्तै पत्रकार देविराम कुसारीको अगुवाईमा कोरोनाबाट मृत्यु भएकालाई दाहसंस्कार लागि आवश्यक काठ खरिद तथा घाट व्यवस्थापन गर्न संचालित “काठ बैंक “अभियानलाई ४ हजार ४ सय ४४ रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको संघका अध्यक्ष शिव पुनले जनाकारी दिनुभयो ।
हरेक वर्षको जेठ–७ गतेलाई संघले वार्षिकोत्सब तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको रुपमा मनाउदै आएको छ । यसवर्ष संघले कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट कार्यक्रम गरेको हो । संघका अध्यक्ष शिब पुनको अध्यक्ष तथा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरलेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चलचित्र पत्रकार संघ दाङका सल्लाहकार शरद रेग्मी,निवर्तमान अध्यक्ष ध्रुव राज न्यौपाने,चलचित्र पत्रकार संघका चितवन अध्यक्ष रबि अधिकारी,कास्की शाखा अध्यक्ष अरुण गिरी,पत्रकार बसन्त आचार्य लगाएतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रमको सहजीकरण सचिव पूर्ण केसीले गर्नुभएको हो ।