नेपाली कांग्रेसलगायत विपक्षी ५ दलका सांसदहरू आज सर्वोच्च जान लागेका छन्।
कांग्रेस, नेकपा माओवादी, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादीको बाबुराम भट्टराई-उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका सांसद सोमबार सर्वोच्च जान लागेका हुन्।
प्रतिनिधि सभा विघटनविरूद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने बताएका यी दल सोमबार सर्वोच्चमा रिट लिएर जान लागेका हुन्।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति र प्रतिनिधि सभा बैठक तोक्न परमादेश माग्ने तयारीमा उनीहरू छन्।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले आज सर्वोच्च अदालत जाने बताए। ‘केही सांसदहरूको हस्ताक्षर भइरहेको छ। आजै हामी सर्वोच्च जान्छौं,’ उनले भने।
आइतबार नै सर्वोच्च जाने तयारी गरे पनि सांसदको हस्ताक्षर गर्ने काम नसकिँदा रोकिएको थियो।
गत शुक्रबार देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बनाउन १४९ जना सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा पेश भएको थियो।
देउवालाई प्रधानमन्त्री बनाउन तयार भएका सांसदहरू नै सर्वोच्च जान लागेका हुन्। शुक्रबार राति नै सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकी थिइन्।
वैकल्पिक सरकार बन्ने अवस्था हुँदाहुँदै प्रतिनिधि सभा विघटन गरिएको भन्दै विपक्षी ५ दलले विरोध गरिरहेका छन्।