२०८० साउन २ गते मङ्गलवार
२०८० साउन २ गते मङ्गलवार

मलेसियाको क्वालालम्पूरमा रेल दुर्घटना हुँदा २ सय बढी घाइते

मलेसियाको राजधानी क्वालालम्पूरमा रेल दुर्घटना हुँदा २ सयजना भन्दा धेरै घाइते भएका छन् । २ सय १३ जना यात्रुहरु बोकेर गएको मेट्रो रेल रित्तै अवस्थामा रहेको अर्को रेलसँग ठोक्किएको हो । पेट्रोनास टावर्स नजिकैको सुरुङमा यी दुई रेलहरु ठोक्किएको प्रहरीले जनाएको छ ।

खाली अवस्थाको रेल भर्खरै मर्मत गरिएको थियो र यात्रुले खचाखच रेल जुन ट्रयाकमार्फत जाँदै थियो, त्यही ट्रयाकको विपरीत दिशामा यो रेल गुडिरहेको थियो ।

‘हामी अझै पनि यो घटनाको छानविन गर्दैछौं । रेलहरुको अपरेशन कन्ट्रोल सेन्टमा गलत सञ्चार भएको हुनसक्ने हाम्रो आशंका छ,’ एक अधिकारीले भने । ती अधिकारीका अनुसार घाइते घाइतेमध्ये ४७ जनाको अवस्था गम्भिर छ भने बाँकी मानिसहरु सामान्य घाइते छन् । रक्ताम्ये अवस्थामा यात्रुहरु भुइँमा लडिरहेको तस्विर दुर्घटनाको केही घण्टापछि सामाजिक सञ्जालमा फैलिएको थियो ।

मलेसियाका प्रधानमन्त्री मुहयिदिन यासिनले यो दुर्घटना गम्भीर रहेको बताएका छन् । उनले यसको पूर्ण छानविनका लागि यातायत मन्त्रीलाई निर्देशन दिइएको उनले बताएका छन् । क्वालालम्पूरमा मेट्रो रेल सञ्चालमा आएको २३ वर्षमा यस्तो ठूलो दुर्घटना पहिलोपटक निम्तिएको हो ।