२०८० साउन २ गते मङ्गलवार
२०८० साउन २ गते मङ्गलवार

पुकार (कविता)

श्रद्धेय, दाजु गणेशमान !
तिम्रो लौहपुरुषको वीरता र निष्ठा
आज पनि विराजमान छ !!
तिमीले स्वदेश, स्वाभिमान र स्वाधीनतालाई
शिरोधार्य गर्दै,
प्रधानमन्त्री पद नै त्याग गरेका थियौँ !
तिम्रो लागि स्वनाम, स्वदेश सर्वश्व थिए !
तर,
आजका हाम्रा सर्वज्ञानी बुज्रुकहरू :
मार्गप्रस्त गर्ने चिनारी दिंदै;
दल र बलको स्वर्ण मृगतृष्णारूपी पहिरणमा
उत्तर- दक्षिण ध्रुवहरूमा दिशानिर्देशन यन्त्रको लेखाजोखा गर्दै
शक्तिसँग स्वदेशको सौदाबाजी गर्दै
राष्ट्रियताको राफसाफ हुँदैछ : हरदम खबर पत्रिका खबर गरीरहेछ !
गणेशमान जी !
हज़ार पुकार छ मेरो !!
अमरापुरमा : तिमी स्वेत शयन कक्षमा जागुरुक नै छौँ भने,
बिलम्व नगरी, राष्ट्रियताको विगुल बजाउँदै
हाम्रा बबुरा खोपडी भएका बुज्रुकहरूलाई
स्वदेश र स्वनामको सत् विद्या भरी देऊ !
नालापानी र कालापानीको व्यथा भरी देऊ
टिष्टा र काँगडाको गौरव गाथा पनि भरी देऊ, है !!

(कवि नेपाली लेखक संघका (स्था- २००८) केन्द्रीय सदस्य हुन् : सम्पादक)