उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा लोकतान्त्रिक गणतन्त्र आएको वर्षौं भइसक्दा पनि जनताको आर्थिक/सामाजिक जीवनमा परिवर्तन ल्याउन नसकिएको स्वीकार गर्नुभएको छ ।
गणतन्त्र दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उहाँले अझै पनि एकात्मक, सामन्तवादी, पुराना सोच–शैली विद्यमान रहेकाले जनतामा निराशा बढ्न थालेको बताउनुभएको हो ।
साथै उहाँले पछिल्लो पटक उत्पन्न राजनीतिक समस्याको सही समाधान हुनेमा आफू आशावादी रहेको पनि बताउनुभएको छ । सार्वभौम संविधानसभाबाट जारी संविधान, जनअभिमत, जनताको सर्वोच्चता र न्यायिक मूल्यमान्यताका आधारमा समस्या छिट्टै समाधान हुने कामना गर्नुभएको छ ।
‘संविधान कार्यान्वयनका क्रममा सङ्घीय, प्रादेशिक र स्थानीय गरी तीन तहमा सरकार बनेका छन् । महिला, आदिवासी जनजाति, दलित, मधेशी, अल्पसङ्ख्यक, उत्पीडित क्षेत्रका समुदायका हकअधिकारलाई संविधानतः थुप्रै अधिकार दिइएको छ,’ उहाँले सन्देशमा भन्नुभएको छ, ‘तर, विकासको स्वाभाविक प्रक्रियाले हुने परिवर्तनभन्दा आधारभूत नेपाली जनताको आर्थिक/सामाजिक जीवनमा परिवर्तन ल्याउन सकेका छैनौँ । एकात्मक, सामन्तवादी, पुराना सोच, शैली विद्यमान छन् । यसले जनतामा निराशा बढ्न थालेको सहजै महसुस गर्न सकिन्छ ।’
यसबेला राजनीतिक समस्याबीच पनि सरकार, राजनीतिक दल र सबै पक्षलाई कोरोना भाइरसको दोस्रो लहर नियन्त्रण गर्न तथा गम्भीर सङ्क्रमितको प्रभावकारी उपचारमा एकजुट भएर लाग्न अपिल गर्दै उपराष्ट्रपति पुनले गणतन्त्र प्राप्तिको क्रान्ति र आन्दोलनमा सहभागी सबै नेपाली नागरिकलाई सम्मानका साथै बधाई दिनुभएको छ ।
गणतन्त्रलाई अझ परिष्कृत गर्नका लागि संविधानसम्मत चलेर जनअभिमतको कदर गर्दै राजनीतिक स्थायित्व, संविधानको संरक्षण, पालन तथा विकास र समृद्धिका लागि प्राप्त भएको जनमतलाई सम्मान गर्न समेत उहाँको आग्रह छ ।