२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

चीनमा कोरोना सङ्क्रमण फेरि बढ्दै, बेलायतमा काेराेना तेस्राे लहर

चीनमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ । चीनको दक्षिणी सहर ग्वांझोमा हिजो १८ जनामा सङ्क्रमण भएको पाइएको छ । सङ्क्रमितमध्ये सात जना सहरभन्दा बाहिरबाट गएका व्यक्तिहरु रहेका बीबीसीले जनाएको छ । सङ्क्रमण बढेसँगै यो सहरमा हुने उडान सेवा बन्द गरिएको छ ।

गएको २४ घण्टामा चीनमा २७ जना सङ्क्रमित भेटिएका छन् । योसँगै अहिलेसम्म चीनमा ९१ हजार ९९ जनालाई सङ्क्रमण पुष्टि भएको छ भने कोरोनाका कारण अहिलेसम्म चार हजार ६ सय ३६ जनाको ज्यान गएको छ ।
यस्तै, बेलायतमा कोरोनाको तेस्रो लहरको चेतावनी दिइएको छ । त्यहाँका वैज्ञानिकले तेस्रो लहरको सुरुवाती सङ्केत देखिएको बताएका छन् । युनिभर्सिटी अफ क्याम्ब्रिजका प्राध्यापक रवि गुप्ताले कोरोना सङ्क्रमण अहिले केही कम देखिए पनि फेरि फैलिन सक्ने बताउनु भएको छ ।
बेलायतमा गएको २४ घण्टामा मात्र ३ हजार ३ सय ८३ जनामा सङ्क्रमण पुष्टि भएको भने यो अवधिमा मात्र एक जनाको ज्यान गएको छ ।

यसैबीच, अमेरिकाका वरिष्ठ सरुवा रोग विशेषज्ञले कोरोना भाइरसविरुद्धको लडाइँ अहिले नै जितिएको घोषणा गर्नु अति छिटो हुने बताउनु भएको छ । सङ्क्रमण केही कम जस्तो देखिए पनि यसले फेरि विकराल रुप लिन सक्ने विज्ञले चेतावनी दिएका छन् ।

अमेरिकामा गएको २४ घण्टामा ५ हजार एक सय ४१ नयाँ सङ्क्रमित भेटिएका छन् भने थप १४१ जनाको ज्यान गएको छ ।