२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

असार १ देखि विद्यार्थी भर्ना सुरू गर्न शिक्षामन्त्रीको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले असार १ गतेदेखि भर्ना प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा आइतबार भएको छलफलका क्रममा मन्त्री श्रेष्ठले तोकिएको शैक्षिक सत्र अनुसार असार १ गतेदेखि अनिवार्य भर्ना प्रक्रिया अगाडि बढाउन विभागीय प्रमुखहरुलाई निर्देशन दिएका हुन् ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले नयाँ भर्ना प्रक्रिया असार १ गतेदेखि अनिवार्य लागू हुने गरी छलफल भएको जानकारी दिए । ‘शैक्षिक असार १ देखि हुने भएकाले नयाँ भर्ना पनि त्यही दिनदेखि सुरु हुन्छ,’ उनले भने ।

छलफलमा मन्त्री श्रेष्ठले मन्त्रालयअन्तर्गत आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयन गर्न समेत निर्देशन दिएका छन् । उनले तत्काल देखिने गरी सबै काम अघि बढाउन विभागीय प्रमुखलाई निर्देशन दिएका हुन् । सबै निकायलाई बजेटमा समेटिएको विषयलाई तत्काल कार्यान्वयन गर्न कार्यविधि योजना तयार गरी साउन १ गतेदेखि बजेट कार्यान्वयन गर्ने गरी लाग्न सुझाव दिए ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाले वैकल्पिक सिकाइ कार्यविधि कार्यान्वयन गरी कक्षा सञ्चालन गर्न सबै स्थानीय तहलाई आग्रह गर्ने बताए । सचिव थपलियाले साउन १ गतेबाट बजेट कार्यन्वयनमा लैजान सबै प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

छलफल कार्यक्रममा बजेट तथा योजना महाशाखाका सहसचिव डा. तुलसी थपलियाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन गर्न तत्काल कार्यविधि निर्माण गर्ने बताए । आगामी आर्थिक वर्षको बजेटमा देशभरका १ हजार ५ सय विद्यालय र क्याम्पस पुनर्निर्माण हुने बताउँदै उनले त्यसका लागि योजना निर्माण भइरहेको जानकारी गराए । विद्यार्थीलाई ल्यापटप उपलब्ध गराउने, सहुलियत दरमा २५ लाख रुपैयाँसम्म ऋण दिने, कक्षा ९ सम्म रंगीन पाठ्यपुस्तक उपलब्ध गराउने लगायतका महत्वपूर्ण योजना कार्यान्वयन गर्न मन्त्रालयले योजना तयार गरिरहेको पनि उनले बताए ।