२०८० साउन ४ गते बिहिवार
२०८० साउन ४ गते बिहिवार

नवनिर्वाचित राष्ट्रियसभा सदस्य पाण्डेले लिई सपथ

नवनिर्वाचित राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेले संघीयताको आधारमा स्थानीय तह र प्रदेशले पाउने अधिकारको लागि आफुले दह्रोगरी आवाज उठाउने बताएका छन् । बुधबार राष्ट्रियसभा सदस्यको सपथ ग्रहणपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै देशको संघीयता, समावेशी र समानुपातिकतर्फ आधारमा स्थानीय तह र प्रदेशले पाउने अधिकार अझै पनि पाउन नसकेको भन्दै त्यसको निम्ति संसदमार्फत बुलन्द आवाज उठाउने बताए । उनले नेपालको लोकतन्त्र र संविधान ओझेलमा देखिएको टिप्पणी पनि गरे ।

उनले भने– ‘मेरो प्राथमिकता भनेको अहिलेको अवस्थामा लोकतन्त्र वा संविधान नै ओझेलमा देखिएको छ । लोकतन्त्र र संविधान माथि नै विभिन्न किसिमका तत्वहरु टिकाटिप्पणीहरु, वक्तव्यवाजी गरिरहेका छन् । त्यसले गर्दा अहिले यो देशको जुन संघीयता हो, समानुपातिक, समावेशी हो । यो वास्तवमा जुन ठाउँमा जहाँसम्म पुग्नुपर्ने हो त्यो अहिले पुग्न सकेको छैन र अहिले पाउने अधिकार संघीयताको आधारमा स्थानीय तह, प्रदेशसम्म पुरा अधिकार नि पुगेको छैन । यी विषय वस्तुहरुलाई समेटेर संसदमा हामी सबै मान्यज्यूहरुको छलफलद्वारा हामीले यसलाई बुलन्द रुपले आवाज माथि उठाउनेछौँ ।’

नेपाली काँग्रेसका उम्मेदवार पाण्डेले नेकपा (माओवादी केन्द्र), नेकपा(एमाले) माधव नेपाल पक्ष, जसपा उपेन्द्र यादव पक्ष र जनमोर्चाको समेत समर्थनमा जेठ १७ गते लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले बुधबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाबाट सपथग्रहण गरेका छन् ।