२०८० साउन १७ गते बुधवार
२०८० साउन १७ गते बुधवार

गर्भवती र सुत्केरीलाई कुखुरा वितरण

सल्यानको त्रिवेणी गाउँपालिकाले ६०० गर्भवती र सुत्केरीलाई कुखुरा वितरण गरेको छ।​ बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत सुनौलो हजार दिनभित्रका आमालाई कुखुरा वितरण गरिएको हो।

पोषणमा सुधार ल्याउने उद्देश्यका साथ सुनौलो हजार दिनका आमाहरूका लागि पाँच (पाँचवटाका दरले कुखुरा वितरण गरिएको त्रिवेणी गाउँपालिका पशु सेवा शाखा प्रमुख वसन्त रावतले जानकारी दिए। गर्भवती र सुत्केरी आमाहरू तथा बालबालिकाहरूलाई अण्डा खुवाउनु पोषणको महत्वपूर्ण तत्व भएकाले पोषणयुक्त खानेकुरामा ध्यान दिन सकून् भनेर कुखुरा वितरण गरिएको उनको भनाइ छ।

पालिकाभित्रका सुनौलो हजार दिनका आमाहरूलाई ३ हजारवटा आठ हप्ते कुखुराको चल्ला वितरण गरिएको रावतले बताए। बच्चा आमाको गर्भमा रहेको दिनदेखि १ हजार दिन आर्थात् जन्मिएको २ वर्षसम्म बच्चाको ८० प्रतिशत मस्तिष्कको विकास भइसक्ने भएकाले उनीहरूको वृद्धि विकासका लागि कुखुरा वितरण गरिएको उपाध्यक्ष करुणा खड्काले बताइन्। खास गरेर आमा र बच्चा दुवैमा कुनै किसिमको कुपोषण देखा नपरोस् भन्ने गाउँपालिकाको लक्ष्य रहेको उनको भनाइ छ।

चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार पालिकाका १ देखि ६ सम्मका लक्षित समूहका आमाहरूलाई कुपोषण हुन नदिन तथा पोषणमा सुधार ल्याउन सबै वडाहरूमा कुखुरा वितरण गरिएको खड्काको भनाइ छ।