२०८० साउन २ गते मङ्गलवार
२०८० साउन २ गते मङ्गलवार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजदेखि १० बेडको आइसीयू सञ्चालन

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले आजदेखि १० बेडको आइसीयू सञ्चालनमा ल्याएको छ ।
आजबाट तत्कालका लागि १० बेड सञ्चालनमा ल्याएको र २० शय्याको पुर्याइने गरी काम भइरहेको प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर संगिता भण्डारीले जानकारी दिनुभयो ।

आउँदो हप्तादेखि एउटा र अर्को हप्ता थप एउटा गरी दुई वटा अक्सिजन प्लान्ट पनि जडानको काम भइरहेको उपकुलपति डाक्टर भण्डारीले बताउनुभयो । प्रतिष्ठानमा कालो ढुसी अर्थात म्युकोर्माइकोसिसको परीक्षण र उपचार गर्ने व्यवस्था पनि रहेको छ । यसका लागि विशेषज्ञ डाक्टर रहेको र अन्य दुई जना नाक, कान घाँटी रोग विशेषज्ञको टोलीले रोगको परीक्षण र उपचार गर्ने डाक्टर भण्डारीले बताइन् ।

यस्तै कोरोना भाइरसको तेस्रो लहरबाट बालबालिका धेरै प्रभावित हुनसक्ने भन्दै प्रतिष्ठानले बालबालिकाका लागि २० बेडको आइसीयू, १० बेडको पीआइसीयू र ६ बेडको एनआइसीयू छिट्टै सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

यसैगरी कोराना भाइरसको दोस्रो लहरमा कमी आएपनि त्यसको जोखिम न्यूनिकरण भइैनसकेको भन्दै प्रतिष्ठानले संक्रमणमुक्त तर सम्भावित जोखिम बिरामीका लागि छुट्टै वार्ड नै बनाएर उपचार सुरु गरेको छ । बिरामी संक्रमणमुक्त भएपछि पनि त्यसपछिको जोखिम देखिने गरेपछि छुट्टै वार्ड नै बनाएर उपचार सुरु गरिएको हो । कोभिड निको भएर घर गएका बिरामीलाई १४ दिनसम्म जटिलता देखिनसक्ने हुनाले उनीहरुलाई फोन तथा भर्चुअल माध्यमबाट परामर्श दिने र आवश्यक परे फेरि अस्पतालमा बोलाएर उपचार गर्ने व्यवस्था मिलाइएको प्रतिष्ठानले जनाएको छ ।