नेपाल कम्युनिस्ट पार्टी एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ ।
पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक बिहान ११ बजे बालुवाटारमा बस्न लागेको हो । तर बैठकमा असन्तुष्ट पक्ष खनाल–नेपाल समूह भने सहभागी नहुने भएको छ । माधव नेपाल समूहका नेताहरुले आजको केन्द्रीय कमिटीको बैठक स्थगित गरेर एकताका लागि संवाद गर्न संस्थापन समूहलाई सुझाव दिएका छन् ।
हिजो बसेको खनाल–नेपाल समूहको बैठकले आज बोलाइएको बैठकमा नजाने निर्णय गरेको हो । यो समूहले अहिलेकै स्थितिमा बैठकमा सहभागी हुन नसकिने जनाएको छ । खनाल–नेपाल समूहले एमाले र माओवादी केन्द्रको एकता हुनुभन्दा अगाडिको केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै आए पनि ओलीले पूर्वमाओवादीका नेताहरूलाई समेटेर केन्द्रीय कमिटी बनाएकाले बैठकमा सहभागी नहुने नेता माधवकुमार नेपालले बताउनु भएको छ ।