२०८० साउन ११ गते बिहिवार
२०८० साउन ११ गते बिहिवार

बाढीपहिरोमा परी हालसम्म ३८ को मृत्यु, ३१ जना बेपत्ता

असारको पहिलो साताबाट शुरू भएको वर्षाका कारण हालसम्म ३८ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएका छन् । बाढी र पहिरोमा परी ३९ जना घाइते भएका छन् ।

अविरल वर्षाका कारण ४८ जिल्ला पूर्णरूपमा प्रभावित भएका छन् । सोही अवधिमा चार सय ८९ घर पूर्णरूपमा भत्किएका छन् भने एक सय १२ घर आंशिकरूपमा भत्किएका छन् । गृह मन्त्रालयका अनुसार सबैभन्दा बढी मानवीय र भौतिक क्षति सिन्धुपाल्चोकमा भएको छ । त्यहाँ बाढी र पहिरोमा परी पाँचको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् । सिन्धुपाल्चोकमा तीन सय ३८ वटा घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् ।

अहिलेसम्म बाढी र पहिरोका दुई सय दुईवटा घटना भएका छन् भने मनाङमा आएको बाढीबाट ५९ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार बाढी र पहिरोमा पारी ३६ वटा सरकारी भवन पनि पूर्णरूपमा ध्वस्त भएका छन् । यसका साथै बाढीले २२ वटा झोलुङ्गे पुल बगाएको छ भने १४ वटा पक्की पुल क्षतिग्रस्त भएका छन् । यो खबर नेपाल समाचारपत्र दैनिकमा छ ।