२०८० साउन १२ गते शुक्रवार
२०८० साउन १२ गते शुक्रवार

सबै नागरिकलाई कोरोनाविरुद्धको खोप सुनिश्चित गर्ने देउवा सरकारको निर्णय

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सबै नागरिकलाई कोरोना विरुद्धको खोप सुनिश्चित गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको देउवा सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले असोज मसान्तभित्र एक तिहाई र चैत्र मसान्तभित्र सवै नागरिकलाई खोप उपलव्ध गराउने निर्णय भएको हो । बैठकले कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रवक्ता समेत तोक्ने निर्णय गरेको छ ।

बैठकले कोरोनालगायत बिभिन्न प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि दिएको मन्त्री कार्कीले बताए । उनले कोरोना फ्रन्टलाइनमा खटिएकाहरुलाई स्वास्थ्यकर्मीलाई जोखिम भक्ता एक हप्ताभित्र उपलव्ध गराउने निर्णय भएको जानकारी दिए ।

यसअघि मंगलबार साँझ नै प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेका थिए । शीतल निवासमा राष्ट्रपति विद्यादेवि भण्डारीसँग पद तथा गोपनीताको शपथ लिएपछि देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् ।

देउवालाई मुख्यसचिव शंकरदास वैरागी एर्व सचिवहरुले सिंहदरबारमा स्वागत गरेका थिए ।