नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार भएको बताउनुभएको छ ।
पार्टी केन्द्रीय कमिटीको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टी एकताका लागि आफू हदैसम्म लचिलो रहेको जनाउँदै नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार भएको बताउनुभएको हो ।
तर नेता नेपालले बहुमत नभएको कमिटीमा जान्नँ भनेपछि सहमति नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अन्तिमसम्म पनि एकताका लागि प्रयास जारी छ, १० बुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध छु ।’
पार्टीमा एकता कायम भए सबै संरचनाहरु ०७५ जेठ २ कै अवस्थाबाट क्रियाशील हुने समते उहाँले बताउनुभयो । नेता नेपालले पार्टी एकताका लागि आफूलाई दोस्रो अध्यक्ष बनाउनुपर्ने माग राखेको र आफूले कार्यदलका सदस्यहरुलाई त्यसका लागि तयार छु भनेको उहाँले सुनाउनुभयो ।
ओलीले नेता नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताउनुभएको पनि यसबारे नेता नेपालको कुनै प्रतिक्रिया आएको छैन ।
एमालेको जारी केन्द्रीय कमिटी बैठक बिहीबार दिउँसो पुनः बस्ने गरी टुङ्गिएको छ । बुधबारको बैठकमा २० भन्दा बढी केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका थिए । मंगलबार भने प्रदेश अध्यक्षहरूले आआफ्नो प्रदेशको रिपोर्टिङ गरेका थिए ।