प्रतिकात्मक तस्वीर ।
नेपालमा पछिल्ला वर्ष बाघको सङ्ख्या बढेसँगै बाघको आक्रमणबाट मानिसको ज्यान जाने घटना पनि बढिरहेका छन् । बाघ संरक्षण नेपालले उच्चतम सफलता हासिल गरे पनि द्वन्द्व भने समाधान हुन सकेको छैन ।
सन् २०११ मा रुसको सेन्ट पिटर्सवर्गमा भएको विश्व बाघ सम्मेलनमा नेपालका तर्फबाट तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर पार्ने प्रतिबद्धता जनाउनुभएको थियो । सन् २००९ को बाघको गणना गर्दा नेपालमा १२१ वटा बाघ थिए । सन् २०२२ मा त्यो सङ्ख्या बढाएर २५० बनाउने लक्ष्यअनुसार काम भइरहेको छ । फलस्वरूप सन् २०१८ मा भएको गणनामा नेपालमा २३५ बाघ भेटिएका छन् । संरक्षणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहँदा सन् २०२२ सम्ममा नेपालले अन्तर्राष्ट्रिय मञ्चमा गरेको प्रतिबद्धता पूरा हुने निश्चित भएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।