२०७८ भाद्र २७ गते आइतवार
२०७८ भाद्र २७ गते आइतवार

दाङ लगायत तराईका जिल्लामा गर्मीका कारण सर्पदंशका बिरामी बढे

सांकेतिक तस्बिर ।

बढ्दो गर्मी र मनसुनका कारण दाङ लगायत तराईका जिल्लामा सर्पदंशका घटना बढ्न थालेका छन् । गर्मीयाममा तराई क्षेत्रमा सर्पदंशका घटना बढी हुने गरेको छ ।

लगातारजसो पानी पर्ने र तराईमा गर्मी पनि हुने भएकाले सर्प बाहिर निस्कने गरेको विज्ञले बताएका छन् । दाङ, कैलाली, महोत्तरी, सिरहालगायत तराईका जिल्लामा सर्पदंशका कारण उपचार गराउन अस्पताल जानेहरुको सङ्ख्या बढ्न थालेको छ ।
महोत्तरी जिल्ला अस्पताल जलेश्वरका मेडिकल सुपरिन्टेन्डेन्ट एवं निमित्त कार्यालय प्रमुख डाक्टर सतिश साहका अनुसार यसअघि एकरदुई जना आउने गरेकोमा अहिले दैनिक आठदेखि १० जनासम्म सर्पले डसेका बिरामी उपचारका लागि आउन थालेका बताउनुभयो । सर्पले टोकेलगत्तै अस्पताल पुग्न उहाँको सुझाव छ ।

सर्पले डसेको बिरामीलाई विषको मात्रा हेरेर एन्टीस्नेक भेनमको डोज लगाउने गरिन्छ । गएको वैशाखदेखि हिजोसम्म सर्पदंशका १२ वटा घटनामा ११ जनाको ज्यान गएको छ भने एक जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले सुत्दा झुलको प्रयोग गर्न, सर्प लुक्ने सक्ने ठाउँको पहिचान र रातमा हिँड्नुपरे टर्च बालेर हिँड्न पनि सुझाव दिएको छ ।