२०८१ असोज २७ गते आइतवार
२०८१ असोज २७ गते आइतवार

मेलम्चीमा फेरि बाढी, रेडियो मेलम्ची भवन बगायाे 

मेलम्ची नदीमा बाढी आएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ।
शनिबार राति काठ, दाउरा, ठूला ढुंगा र लेदोसहित मेलम्ची खोलामा भीषण बाढी आएको हो। गत असार १ गते ठूलो बाढी आएर जनधनको क्षति पुगेको मेलम्ची र हेलम्बुमा शनिबार राति फेरि बाढी आएपछि स्थानीय त्रसित बनेका छन्। असार १ को बाढीबाट भएको क्षति र विस्थापितको पुर्नस्थापना हुन नपाउँदै पुनः बाढी आउँदा स्थानीय त्रसित भएका हुन्।

यसअघिको बाढीका कारण तटीय क्षेत्रमा स्थानीय नबसेका कारण मानवीय क्षति भने नभएको बताइएको छ। ठूलो पानी परेकाले मेलम्ची र इन्द्रावती नदीको बहाव बढ्दो क्रममा रहेको स्थानीयले बताएका छन्। शनिबार राति नदीको जलसतह बढेपछि मेलम्ची बजारका बासिन्दा घर छाडेर माथिल्लो क्षेत्र लागेका छन्।

हेलम्बु गाउँपालिकाको नाकोते क्षेत्रमा पहिरो गएर नदी थुनिएका कारण एक्कासि बाढी आएको प्रारम्भिक अनुमान गरिएको छ। सिपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार अहिले चनौटे बजारको बीच भागबाट नदी बगिरहेको छ।
यसअघिको बाढीले हेलम्बु, मेलम्चीलगायतका क्षेत्रमा ठूलो धनजनको क्षति भएको थियो।

रेडियो मेलम्ची भवन बगायाे               

 मेलम्चीमा आएको बाढीले रेडियो मेलम्ची १०७ दशमलव २ मेगाहर्जको भवन बगाएको छ।
राति १२ बजे ४० मिनेट जाँदा रेडियोको भवन बाढीले बगाएको रेडियोका स्टेशन म्यानेजर देवराज सुवेदीले जानकारी दिए

गएको असार १ गते आएको बाढीले रेडियोको भवनमा क्षति गरेको थियो। ‘तीन तलाको रेडियोको भवन त्यतिबेला दुई तला डुबानमा परेको थियो, गएरातिको बाढीले पूरै भवन नै बगायो’ सुवेदीले भने।