२०७८ भाद्र २९ गते मङ्गलवार
२०७८ भाद्र २९ गते मङ्गलवार

हराएको चाँदीको मुकुटसहित एक जना पक्राउ

सप्तरीको छिन्नमस्ता गाउँपालिकामा रहेको प्रसिद्ध छिन्नमस्ता खण्डेश्वरी भगवती मन्दिरमा चोरी भएको चाँदीको मुकुट फेला परेको छ । प्रहरीले आइतवार रातिदेखि मन्दिरबाट हराएको चाँदीको मुकुटसहित एक जनालाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख राजेन्द्र प्रसाद धमलाले विष्णुपुर गाउँपालिका ५ मझाउ टोलका २६ वर्षीय राजेश कुमार मण्डललाई मुकुटसहित नियन्त्रणमा लिइएको बताउनु भएको छ । मण्डलले आफूले मुकुट चोरेको स्वीकार्दै विष्णुपुर गाउँपालिका तथा स्थानीय प्रहरी प्रशासनलाई जानकारी गराएका थिए ।

मण्डललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा लगिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद आचार्यले जानकारी दिनुभयो ।

मन्दिरका पुजारीहरु पोखरीको सरसफाइमा व्यस्त रहेको समयमा मुकुट चोरी भएको थियो । घटनासँगै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको नेतृत्वमा प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमला, प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेसहितको टोली त्यहाँ पुगेको थियो । चाँदीको मुकुटको खोजीका लागि भारतीय सीमानाका समेत बन्द गरिएको थियो ।