२०८० साउन ३ गते बुधवार
२०८० साउन ३ गते बुधवार

मुख्यमन्त्री पोखरेललाई कारबाही गर्नुपर्ने माग

सांसदको अपहरण तथा बन्धक बनाउने कार्यमा संलग्न रहेको भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलमाथि कारबाही गर्नुपर्ने माग उठेको छ। राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा मुख्यमन्त्री पोखरेलमाथि कारबाहीको माग उठेको हो। राष्ट्रियसभा सदस्य प्रमिला कुमारीले सांसदको अपहरण तथा बन्धक बनाउने गतिविधिमा मुख्यमन्त्री पोखरेल संलग्न रहेको भन्दै कारबाहीको माग गरेकी हुन्।

उनले भनिन्, ‘माओवादी केन्द्रकी सांसद विमला खत्री वलीलाई साउन १५ गते मुख्यमन्त्री पोखरेलको निर्देशन र एमालेका लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकालको प्रत्यक्ष संलग्नतामा घरबाटै अपहरण गरेको शैलीमा मुख्यमन्त्रीको निवासमा पुर्‍याएर पाँच दिनसम्म बन्धक बनाएर राख्नु खेदजनक छ।’

उनले मुख्यमन्त्री पोखरेल पनि केपी शर्मा ओलीकै बाटोमा उन्मुख देखिएको टिप्पणी गरिन्। उनले भनिन्,‘ विश्वासको प्रस्ताव सामना गर्न नसक्ने, बजेट पेस गर्न नसक्ने, संसद बहिष्कार गर्ने, अन्य पार्टी तोडफोड गर्ने, ओली सरकारजस्तै हाल लुम्बिनी प्रदेशका मुख्यमन्त्री आफै अपहरणमा संलग्न भई कानुन विपरीत कार्य गरिरहेको हुँदा कारवाहीको जोडदार माग गर्दछु।’

मुख्यमन्त्री पोखरेलले सांसदलाई अपहरण गर्न लगाएर तीन दिनसम्म बन्धक बनाएको खबर बाहिरिएपछि चौतर्फी विरोध भइरहेको छ। अनेक काण्ड गरेर विवादमा आइरहने मुख्यमन्त्री पोखरेल अहिले पनि चर्चा र विवादको केन्द्रमा छन्।

उनीमाथि लागेको आरोपको उचित जवाफ उनले दिन सकेका छैनन्। अपहरण गरी बन्धक बनाइएको भन्दै प्रदेशसभा सदस्य वलीले पत्रकार सम्मेलन नै गरेपछि पोखरेल र संलग्नहरूमाथि कारबाही गर्न दबाब बढेको छ।