२०७८ भाद्र २६ गते शनिवार
२०७८ भाद्र २६ गते शनिवार

खुल्ला फुटबल प्रतियोगिताको उपाधी खैरिपुर युथक्लबको हातमा

बुटुनियामा संचालित खुल्ला फुटबल प्रतियोगिता २०७८ को उपाधी खैरिपुर युथक्लबले हात पारेको छ । बुटुनिया युथक्लब तुलसीपर ८ को आयोजनामा बुटुनिया खेल मैदानमा सम्पन्न फाईनल खेलमा टिकरी युथक्लबलाई सर्ट एण्ड डेथमा शून्यका बिरुद्ध १ गोल अन्तरले पराजित गर्दै खैरिपुर युथक्लबले उपाधी हात पारेको हो ।

उपाधि संगै उसले १७ हजार बरावरको खसी तथा प्रमाणपत्र हात पार्‍यो । फाईनलमा सम्मानजनक हार ब्यहोरेको टिकरी उपबिजेतामा सिमित रहदै नगद ७ हजार तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । स्थानिय स्तरका दर्शकहरुको शानदार उपस्थितीमा भएको कडा प्रतिस्पर्धा र रोमाञ्चक खेलको निर्धारित समय सम्म एक, एक गोलको बराबरी भएपछी खेल पेनाल्टी सुटआउट मा गएको थियो । पेनाल्टिमा पनि पाँच ,पाँच गोलको बराबरी हुनपुग्दा खेलको नतिजा सर्ट एण्ड डेथका आधारमा निकालिएको थियो ।

फाईनल खेलमा रेफ्रीको भुमिकामा मुख्य रेफ्री सुमन केसि, सहायक रेफ्री अभिशेष ओलि र अर्जुन नेपाली रहेका थिए । साउन २१ गते देखि सुरु भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । यसैबीच प्रतियोगिताको समापन समारोह बुटुनिया युथ क्लबका अध्यक्ष सुरेश आचार्यको अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिका वडा न ८ का कार्यबाहक अध्यक्ष चित्र बहादुर डाँगीको प्रमुख आतिथ्यता एवं खेलप्रेमी समाजसेवी जित बहादुर केसीको विशिष्ट आतिथ्यमा भएको थियो ।

सो अबसरमा प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने टिकरी युथ क्लबका प्रबिन केसीलाई उत्कृष्ट खेलाडी र खैरिपुर युथ क्लबका बिनोद केसीलाई सर्वाधिक गोलकर्ता घोषित गरिएको थियो । कार्यक्रमको संचालन श्रीधर साहुले गरेका थिए ।