२०८० साउन २ गते मङ्गलवार
२०८० साउन २ गते मङ्गलवार

शहीद नेत्रलाल अभागीको सालिक अनावरण

दाङको घोराहीमा शहीद नेत्रलाल अभागीको सालिक अनावरण गरिएको छ । घोराही उपमहानगरपालिका १५ सिटि प्लाजा होटल अगाडीको चोकमा स्थापना गरिएको अभागीको सालिक लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोख्रेलले एक कार्यक्रमका बीच आज अनावरण गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै पोख्रेलले शहीदको सम्मान र आदर्शको सुरुवात भएको बताउनुभयो । ​यस्तै उहाँले कम्युनिष्ट आन्दोलनका धरोहर नेत्रलाल अभागीको योगदानलाई जीवन्त राख्न सालिक विम्वकोरुपमा रहने पनि बताउनुभयो । घोराही उपमहानगरपालिकाले केही महिना पहिले त्यस स्थानमा कम्युनिष्ट नेता अभागीको सालिक राख्न दिने निर्णय गरेअनुसार उपमहानगरपालिकामा लुम्बिनी प्रदेश सरकारले पठाएको १५ लाख रुपैयाँ लागतमा सालिक निर्माण गरिएको हो ।

वि।स। २००१ साल पुस २७ गते दाङको तत्कालीन धर्ना गाविस २ सिसैपुर गाउँमा जन्मिनुभएका नेत्रलालले २०३६ को दाङको किसान आन्दोलनको नेतृत्व गर्नुभएको थियो । अभागीले शोषक सामन्तीहरुलाई मोसो दल्ने जस्ता जनकार्वाहीको अगुवाइ समेत गर्नुभएको थियो । आफ्नो जीवन पार्टी र समाज परिवर्तनका लागि लगाउनुभएका अभागी २०४१ साल जेठ ६ गतेका दिन पार्टी कामका लागि देउखुरी जाँदै गर्दा तत्कालीन चैलाही गाविस सुकेखोलाको किनारमा मृत भेटिनुभएको थियो ।