दाङको तुलसीपुरमा श्रीमतीले हँसिया प्रहार गरि श्रीमानको हत्या गरेकी छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ सुन्दर टोलका ७८ वर्षीय खिमलाल पुरीको हत्या गरेको अभियोगमा ५६ वर्षीया देवीकुमारी योगीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार आइतबार बिहान २ बजेतिर श्रीमती योगीले श्रीमान पुरीलाई हँसिया र बाँसको चिर्पट प्रहार गरि हत्या गरेको खुलेको हो।
श्रीमान मदिराको अम्मली रहेको र उक्त दिन पनि पुरीले अत्यधिक मदिरा सेवन गरि आएको तथा आफूले लगाएको कपडामा दिशा पिशाब गरेपछि आक्रोसमा आएर आफूले सुरूमा हँसिया र त्यसपछि बाँसको चिर्पटले आक्रमण गर्दा श्रीमानको मृत्यु हुन पुगेको भनेर श्रीमति योगीले प्रहरी समक्ष बयान गरेको डिएसपी अर्यालले बताए।
घरमा पुरी दम्पत्ति मात्रै बस्दै आएका थिए। उनीहरूका छोरा विदेशमा रहेको, बुहारी छुट्टै बस्ने गरेको र प्रहरीले जनाएको छ।