२०८० साउन ३ गते बुधवार
२०८० साउन ३ गते बुधवार

भदौ २३ अघि मन्त्रिमण्डल विस्तार हुने सम्भावना छैन : नेपाल

माधवकुमार नेपाल ।

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपालले भदौ २३ गतेअघि मन्त्रिपरिषद् विस्तार हुने सम्भावना नरहेको बताउनुभएको छ ।
अध्यक्ष नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट भए पनि त्यसबारे छलफल नभएको पनि बताउनुभयो ।

आज बिहीवार बिहान अध्यक्ष नेपालले दाहालसँग भेट गर्नुभएको थियो । सिंहदबारमा रहेको पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्ने क्रममा उहाँले सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा २२र२३ गतेसम्म त मन्त्रिपरिषद् विस्तारका बारेमा कसैले चुइँक्क पनि नबोल्ने बताउनुभयो । सत्तारुढ दलभित्रको विवादका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको चर्चा भइरहँदा अध्यक्ष नेपालले मन्त्रिपरिषद् विस्तारका विषयमा उपयुक्त समयमा मात्रै सत्तारुढ दलहरूबीच छलफल हुने प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, ‘मन्त्रिपरिषद् विस्तारका विषयमा २२र२३ गतेसम्म त कसैले पनि चुइँक्क बोल्दैन । त्यसबारेमा अहिले केही चर्चा हुँदैछ । हामी त्यसका लागि पनि उपयुक्त समयमा छलफल गर्नेछौँ ।’

अध्यक्ष नेपालले केपी ओलीको भ्रममा नपर्न पनि पार्टीका प्रदेश सभाका सांसदसहितका जनप्रतिनिधिलाई आह्वान गर्नुभयो । केपी ओली र उहाँका मान्छेहरूले दश बुँदे सहमतिको भ्रमपूर्ण व्याख्या गरिरहेको उल्लेख गर्दै उहाँले त्यसको भ्रममा नपरि आफ्नो पार्टीमा आउन पनि एमालेका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो ।

अध्यक्ष नेपालले आफ्नो पार्टीले माओवादी केन्द्रसँग एकता नगर्ने पनि दोहोर्‍याउनुभयो । उहाँले क्रान्तिकारी विचारको आधारमा निर्माण भएको आफ्नो पार्टी माओवादी केन्द्रसँग विलीन हुने भ्रम नछर्न पनि सचेत गराउनुभयो ।

नेता नेपालले भन्नुभयो, ‘हाम्रो पार्टी माओवादी केन्द्रमा मिल्छ वा विलीन हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गर्न चाहन्छु । हाम्रो पार्टी क्रान्तिकारी विचारको आधारमा निर्माण भएको छ । यो केपी ओलीको निरङ्कुशताविरुद्ध विद्रोह गरेर बनेको पार्टी हो ।’

अध्यक्ष नेपालले आफ्नो पार्टीविरुद्ध केपी ओलीले कुप्रचार गरिरहेको उल्लेख गर्दै त्यसलाई चिरेर अघि बढ्न सफल हुने दाबीसमेत गर्नुभयो ।

यसैबीच नेकपा (एकीकृत समाजवादी) पार्टीको राष्ट्रिय सभा संसदीय दलका नेता बेदुराम भुसालले पनि बिहीवार नै सिंहदरबारमा रहेको दलको कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको छ ।