२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

देउवाविरुद्ध पौडेल समूह एक ढिक्का


नेपाली कांग्रेसभित्रको संस्थापनइतर मानिएको रामचन्द्र पौडेल समूहले पार्टीको आगामी १४औं महाधिवेशनमा संस्थापन पक्षविरुद्ध एक ढिक्का हुने घोषणा गरेको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पौडेल समूहले १४औं महाधिवेशनमा आफ्नो समूह एक भएर सहमतिमा हालका सभापति देउवाविरुद्ध उम्मेदवारी दिने घोषणा गरेको हो । कांग्रेस महाधिवेशनका लागि विधानले तोकेको सबैभन्दा तल्लो तहको अधिवेशन आज शुक्रबारबाट सुरु हुँदै छ ।

महाधिवेशनको प्रक्रिया सुरु हुने अघिल्लो दिन नै पौडेल समूहले देशभर नेता कार्यकर्ताबीच समूहमा एकता रहेको सन्देश दिन यस्तो घोषणा गरेको हो । समूहको नेतृत्व गर्दै आएका कांग्रेस वरिष्ठ नेता पौडेलले आफ्नो समूहबाट महाधिवेशनमा सहमतिबाट सभापतिको एकल उम्मेदवार तय हुने बताए ।

‘महाधिवेशनमा हामी सभापतिमा एउटै उम्मेदवार दिन्छौं, देशभरिका साथीहरूलाई म ढुक्क रहन आग्रह गर्छु, व्यक्तिका विषयमा छलफल गरेर निर्णय लिन्छौं,’ पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पौडेलले भने । ‘कसको नाममा सहमति हुन्छ त ?’ भन्ने पत्रकारहरूको जिज्ञासामा भने पौडेलले व्यक्तिका विषयमा पछि टुंगो लगाइने बताए ।

पत्रकार सम्मेलनमा आगामी महाधिवेशनमा सभापतिका आकांक्षी रहेका नेताहरू महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू डा. शेखर कोइराला, अर्जुननरसिंह केसी, नेत्री सुजाता कोइराला र गगन थापा सहभागी थिए । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।