२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

खोप दिएर जनतालाई बचाउनु पहिलो प्राथमिकता : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकहरूलाई कोभिडविरुद्धको खोप दिएर रोग र महामारीबाट जोगाउनु नै सरकारको पहिलो प्राथमिकता रहेको दोहोर्‍याएका छन्। विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एशियाको ७४ औँ सत्र तथा क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठकको उदघाटन सत्रमा प्रधानमन्त्री देउवाले शुभकामना यस्तो बताएका हुन्। यसैगरी, विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा ट्रेडोस अधानम घेब्रेयेससले बैठकलाई शुभकामना दिँदै महामारीमा सबै देश मिलेर रोकथामका लागि कार्य गर्नुपर्ने , नियम बनाउनुपर्ने र महामारी फैलन नदिनका लागि एक अर्का देशबीच समन्वय गरी अघि बढ्नु भन्दै विश्वव्यापी सहयोगको आवश्यकता रहेको बताए । क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले कोभिड महामारीमा प्रभावकारी खोप भए पनि त्यसको उपलव्धता पर्याप्त नभएको भन्दै चिन्ता व्यक्त गरिन्। उनले महामारीमा देखिएका नयाँ नयाँ भेरियन्टले समस्या पैदा गरेको समेत सुनाइन्। कार्यक्रममा अहिले पनि सदस्य मुलुकका स्वास्थ्य मन्त्री तथा स्वास्थ्य अधिकारीहरू बोल्ने क्रम जारी छ।

कोरोना महामारीले पैदा गरेको जोखिमलाई मध्यनजर गर्दै लगातार दोस्रो पटक भर्चुअल माध्यमबाट आयोजना भएको वार्षिक बैठकमा सार्वजनिक स्वास्थ्य आपतकालको पूर्वतयारी तथा प्रतिकार्यको सुदृढीकरण,नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणको प्रगतिलाई थप गति दिने, र भाइरल हेपाटाइटिस, एचआइभी र यौन रोगहरूको उन्मूलन लगायतका विषयहरूमा छलफल हुनेछ । बैठकमा समितिका दक्षिण पूर्वी एसियाका ११ सदस्य राष्ट्रहरूको सहभागिता रहेको छ। यसअघि नेपालले सन् २००९ मा यस क्षेत्रीय समितिको आयोजना गरेको थियो । बैठकमा संगठनका कार्यक्रमहरू, नीति, बजेटको समिक्षा तथा स्वीकृति गर्नुको साथै कोभिड–१९ लगायत अन्य समसामयिक जनस्वास्थ्यका मूल मुद्दाहरूमा गहन छलफल गरिने कार्यतालिका रहेको छ । यसका साथै उक्त सत्रमा नेपालले प्रस्ताव गरेअनुसार कोभिड–१९ का सन्दर्भमा स्वास्थ्यको सर्वव्यापी पहुँच कसरी बढाउने र स्वास्थ्यसम्बन्धी दिगो विकास लक्ष्यहरू प्राप्तिका लागि स्वास्थ्य प्रणालीलाई कसरी थप सुदृढ गर्न सकिन्छ भन्ने बारेमा मन्त्रीस्तरीय विशेष छलफलसमेत हुनेछ ।

आपसी एकता, हातेमालो र परस्पर सहयोगले विपद् र महामारीलाई नियन्त्रण गर्नुका साथै स्वास्थ्यसम्बन्धी विश्व, क्षेत्रीय र राष्ट्रियस्तरमा जाहेर भएका प्रतिबद्धतालाई कसरी प्रभावकारी ढंगले हासिल गर्न सकिन्छ भन्ने बारेमा यस सत्रमा विशेष छलफल हुने पौडेलले बताए । स्वास्थ्य क्षेत्रका समसामयिक र महत्वपूर्ण स्वास्थ्य मुद्दाहरूमाथि छलफल गरी आगामी दिनहरूमा सदस्य राष्ट्रहरू तथा संगठनले चाल्नुपर्ने कदमका बारेमा साझा अवधारणा तथा योजना तयार गर्ने कार्यक्रमको उद्देश्य रहेको छ।