२०८१ असोज २७ गते आइतवार
२०८१ असोज २७ गते आइतवार

तुलसीपुरका किशोरीलाई साइकल वितरण

दाङको तुलसीपुर उपमहानगरपालिकाले किशोरीहरुलाई ५० वटा साइकल वितरण गरेको छ । किशोरीलाई समयमै स्कुलसम्म पुग्न सहयोग पुगोस् भन्नका लागि साइकल वितरण गरिएको तुल्सिपुर उपमहानगरपालिकाले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको विकास कार्यक्रम (यूएनडीपी) को सहयोगमा उपमहानगरपालिकाले “किशोरीहरुको सशक्तिकरण नेतृत्व र सम्मान, तुलसीपुरको पहिचान” भन्ने मुल नारा सहित अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा साइकल वितरण गरेको हो ।

तुलसीपुरको मेट्रो कलेजमा भएको वितरण कार्यक्रममा यूएनडीपीका नेपाल प्रतिनिधि आयशनी मेडागन्गोटा लाबेले रनियापुर माविमा कक्षा ८ मा अध्यनरत छात्रा शर्मिला नेपाली र तुलसीपुर मेट्रो कलेजमा कानुन विषयमा अध्ययनरत सरिता पुनलाई साइकल हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा यूएनडीपी प्रतिनिधि लाबेले साइकल वितरण कार्यक्रममा बोल्दै विश्वमा किशोरी अघि बढेका देशहरु मात्रै समृद्धिको बाटोमा अघि बढेको बताउनुभयो । यस्तै उहाँले सहयोग गर्ने अवसरमा दिएको उपमहानगरपालिकालाई धन्यवाद समेत दिनुभयो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले तुलसीपुरलाई साइकल सिटीका रुपमा विकास गर्ने बताउनुभयो । साइकल सिटीका रुपमा विकास गर्दा आवश्यक पर्ने पूर्वाधार विकासलाई पनि सँगसँगै लैजाने उहाँले बताउनुभयो । वतावरण प्रदुषणलाई पनि साकल यात्राले न्यूनीकरण मामद्धत पुग्ने उहाँको भनाइ थियो ।