नेपाल पत्रकार महासंघ दाङ शाखाले ‘बंगलाचुलीको पर्यटन पर्वद्धनमा सञ्चारमाध्यमको भूमीका’ विषयमा अन्तरक्रिया गर्ने भएको छ।
नेपाल पत्रकार महासंघ दाङको आज बसेको बैठकले हिन्दुहरुको महान पर्व वडा दसैंको अवसर पारेर बंगलाचुली गाँउपालिका वडा नं. ५ बंगलाचुली लेकमा सो कार्यक्रम गर्ने निर्णय गरेको हो ।
अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा बसेको बैठकले नेपाल पत्रकार महासंघ दाङको ११ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले पत्रकारहरुसँग सल्लाह सुझाव लिनकालागि सुझाव संकलन कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। त्यस्तै घोराहीमा भोली मंगलबारदेखि एकहप्ते पत्रकारिता तालिम सञ्चालन गर्ने निर्णय भएको सचिव आरके सितलले बताउनुभयो । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले युरोपीयन युनियन र ईन्टरनेशनल अलर्टको सहयोगमा उक्त तालिम सञ्चालन गर्न लागेको हो ।
आज बसेको बैठकले नेपाल पत्रकार महासंघ दाङका साधारण सदस्य हिरामणी दुखीको आमा तुलसीपुर ५ नामीनगर निवासी ८१ वर्षीय लक्षीमा पौडेलको निधनप्रति दुःख व्यक्त गर्दै मृतकको आत्माको चिरशान्तिको कामनासहित परिवारजनमा गहिरो समवेदना व्यक्त समेत गरेको छ ।