दाङको तुलसीपुरको टरिगाउँ एयरपोर्टको स्तरोन्नतिको लागि ५५ करोड बजेट बिनियोजन गरेको छ । हालै सरकारले ल्याएको प्रतिस्थापन बजेटमा एयरपोर्टको सुदृढीकरण, टावर निर्माण र धावन मार्ग विस्तारका लागि ५५ करोड बजेट अर्थमन्त्री जनार्दन शर्माले बिनियोजन गरेका हुन ।
बितेका दुई आर्थिक वर्षदेखि तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टको लागि कुनैपनि बजेटको ब्यवस्था गरिएको थिएन । केपी शर्मा ओली नेतृत्वको सरकारले यसअघि अध्यादेश मार्फत ल्याएको बजेटमा समेत टरिगाउँ एयरपोर्टमा कुनैपनि बजेटको ब्यवस्था नगरेको भएपनि अहिले अर्थमन्त्री जनार्दन शर्मा भएपछि बजेटको ब्यवस्था भएको माओवादी केन्द्रका दाङ जिल्ला सदस्य नेता यज्ञ बहादुर केसीले बताए । टरिगाउँ एयरपोर्टको बिस्तार र स्तरोन्नतिका लागि बिभिन्न शीर्षकमा ५५ करोड बजेट बिनियोजन भएको भन्दै उनले अब त्यो कार्यान्वयनमा आएमा समग्र दाङको भविष्य राम्रो हुने उनले बताए । टरिगाउँ एयरपोर्टमा बजेट पार्नका लागि तुलसीपुर निवासी माओवादीका नेता तथा राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा (अपार) लगायतका नेताले महत्वपूर्ण भूमिका खेलेका थिए ।
केही समय पहिले मात्रै तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजाल, माओवादीका स्थानीय नेता यज्ञबहादुर केसी, राष्ट्रिय सभा सदस्य शर्मा लगाएका ब्यक्तिहरू एयरपोर्टको बिस्तारको कुरालाई लिएर अर्थमन्त्रीलाई भेटेका थिए । क्षेत्रीय राजनीतिका कारण २०११ साल देखिको ऐतिहासिक एयरपोर्टको भविष्य अन्यौलमा पर्न थालेपछि विगत २०६२ सालदेखि तुलसीपुर उद्योग वाणिज्य संघले हरेक नेता र मन्त्रीलाई एयरपोर्ट बिस्तारको माग गर्दै जिल्लामा आउने हरेक दलका नेता, मन्त्री र काठमाडौंमा पुगेर पनि हरेक सरकारका प्रमुख तथा मन्त्रीहरूलाई ज्ञापन पत्र बुझाउँदै आएको पूर्व अध्यक्ष रिजालले बताए ।
लोकेन्द्र बिष्ट मगर पर्यटन मन्त्री भएको समयमा कालोपत्रे गरिएको भएपनि टरिगाउँ एयरपोर्टको धावन मार्ग ७५० मिटर लम्बाइ र ३० मिटर चौडाइको मात्रै छ । जसले गर्दा यहाँ १८÷१९ सिट जहाज मात्रै अवतरण गर्न सक्छन् । यात्रुलाई भाडा महँगो पर्नुको प्रमुख कारण ठूला विमान यहाँ नआउनुलाई नै मानिएको छ । धावन मार्ग बिस्तार भएमा र केही ठूला विमान अवतरण गर्न सक्नेमा टरिगाउँ एयरपोर्टको भाडा नेपालगञ्ज एयरपोर्टको भन्दा झनै सस्तो हुने आशा गरिएको छ ।