२०८१ माघ २५ गते शुक्रवार
२०८१ माघ २५ गते शुक्रवार

मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु, दर्जन बढी घाइते

फाइल तस्वीर ।

मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ भने दर्जन बढि घाइते भएका छन् । सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको र दर्जन बढि घाइते भएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए । ३९ जना यात्रु रहेको बस दिउँसो २ बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएकामध्ये १२ जनालाई समिट एयरको विमानबाट र २ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बस सडकबाट साढे दुई सय मिटर तल खसेको छ । अहिले उद्दार भइरहेकाले घाइतेको संख्या बढ्न सक्ने एसपी श्रेष्ठको भनाइ छ । घाइतेमध्ये एक जनालाई आफन्तले जिल्ला अस्पताल गमगढी लगेका छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार नेपालगञ्ज विमानस्थलमा ९ वटा एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको छ । हेलिकप्टर र जहाजमा ल्याइएका घाइतेहरूलाई ती एम्बुलेन्सले अस्पताल पुर्‍याउनेछ । सेनाको हेलिकप्टर उद्दारका लागि सुर्खेतबाट मुगु गएको थियो ।