२०७८ माघ ३ गते सोमवार
२०७८ माघ ३ गते सोमवार

कार्यालय समयमा चालक अनुमतिपत्रको अनलाइन आवेदन भर्न नपाउने

सेवाग्राहीले कार्यालय समयमा चालक अनुमतिपत्रको अनलाइन आवेदन भर्न नपाउने भएका छन् । प्रणालीमा चाप बढी भएकाले तत्कालका लागि बिहान १० देखि अपराह्न ५ बजेसम्मका लागि सेवा चालु नगरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
देशभरका यातायात व्यवस्था कार्यालयहरूले यही प्रणालीबाट काम गर्ने र सेवाग्राहीले फारम भर्दा दोहोरो लोड भएको विभागको विज्ञप्तिमा उल्लेख छ । अहिले प्राविधिकले लोड ब्यालेन्सका लागि काम गरिरहेका विभागले जनाएको छ । विभागका अनुसार सेवाग्राहीले यो हप्ता बिहान र बेलुकामात्रै फारम भर्न पाउने भएका छन् ।

सेवाग्राहीले अनलाइन फारम भरेपछि फोटो खिचाउन, मेडिकल रिपोर्टलगायत कामका लागि कार्यालयमा जानुपर्छ ।
देशभरका १२ कार्यालयमा दैनिक लाखौँ सेवाग्राही आइरहेको र त्यो चापले गर्दा प्रणालीमा समस्या आएको विभागले जनाएको छ । विभागले गएको वर्षदेखि अनलाइन आवेदन सुरु गरेको थियो।