२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

मेयरले वडा अध्यक्षलाई बैठक कक्षबाट निकाले

मोरङको पथरी शनिश्चरे नगरपालिकाका मेयरले वडा अध्यक्षलाई बैठक कक्षबाट निकालेका छन् । सोमबार वार्षिक समीक्षा गोष्ठीमा मेयर दिलिपकुमार राईले पथरीशनिश्चरे ४ का वडा अध्यक्ष गोबिन्दबहादुर भण्डारीलाई नगरप्रहरी लगाएर निकालेका हुन् । समीक्षा गोष्ठीमा वडा अध्यक्ष भण्डारीले पालिकामा ब्यापक आर्थिक अनियमितता भएको जवाफ मागेका थिए । उनले इन्धनका लागि छुट्याएको ४२ लाख, सवारी मर्मतका लागि छुट्याएको ३० लाख र फर्निचरका लागि छुट्याएको ५० लाखको हिसाब देखाएर मात्रै बैठक अघि बढाउन माग गरे ।

बैठकअघि बढ्न नदिएपछि मेयर राईले नगरप्रहरीलाई बाहिर निकाल्न निर्देशन दिए । निर्देशनपछि दुईजना नगरप्रहरीले उनलाई निकालेपछि मात्रै छलफल सुरु भएको थियो ।
‘पालिका भित्र अनियमितता भयो, हिसाब देखाउल भन्दा नगरप्रहरी लगाएर मलाई निकाले,’ भण्डारीले भने, ‘नगरप्रहरीले हातपात पनि गरे ।’ मेयर र नगरप्रहरीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै उनले इलाका प्रहरी कार्यालय पथरीमा उजुरी पनि दिएका छन् ।

वडा अध्यक्ष भण्डारीका अनुसार अनियमितताका कारण यसअघिका प्रमुख प्रशासकीय अधिकृत र एक जना इन्जिनियरले अख्तियारमा मुद्दा खेपिरहेका छन् । पालिकामा अझै अनियमितता भइरहेको उनको गुनासो छ ।
सोमबारको समीक्षा गोष्ठीमा वडा अध्यक्षलाई निकालेपछि नगर प्रमुख राईले कार्यप्रगति विवरण प्रस्तुत गरेका थिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले बैठक चल्न नदिएपछि मेयरले वडा अध्यक्षलाई बाहिर पठाएको बताए ।
उनका अनुसार वडा अध्यक्षको मोटरसाइकल मर्मतको बिल पास नभएका कारण विवाद निस्किएको थियो । ‘उहाँको मोटरसाइकल मर्मतको बिल १० हजारको थियो, मैले तोक आदेश दिएँ तर माग फारम नभरेकाले लेखाले रोकेको रहेछ,’ उनले भने, ‘बैठकमा इन्धन मर्मतको हिसाब खोज्नु भयो ।’ पालिकाले चालु आर्थिक वर्षका लागि इन्धनमा छुट्याएको ४२ लाख, मर्मतको ३० लाख र फर्निचरको ५० लाख खर्च हुने क्रममा रहेको दाबी उनले गरे ।