२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

नेकपा एमालेको दशौँ महाधिवेशनको बन्द सत्र सुरू

नेकपा एमालेको दशौँ महाधिवेशनको बन्द सत्र सुरू भएको छ । बिहान ८ बजेदेखि बन्द सत्र सुरू गर्ने कार्यतालिका भए पनि ढिलो गरी दिउँसो साढे एक बजेदेखि सुरु भएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली सौराहाको बन्द सत्र हुने हलमा पुग्नुभएको छ । बन्द सत्रमा विभिन्न देशबाट आएका दलका प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै, गएराति केन्द्रीय कमिटी बैठकले गरेका निर्णय पनि अनुमोदन गर्नेछ । केन्द्रीय कमिटी बैठकले २ उपाध्यक्ष र २ उपमहासचिव पद थप गरेको थियो । त्यस्तै पदाधिकारी संख्या बढाउने निर्णय गरेको थियो ।

बैठकले दुई सय २५ सदस्यीय केन्द्रीय कमिटीलाई ३०१ सदस्यीय बनाउने प्रस्ताव बन्दसत्रमा पेश गर्ने निर्णय गरेको थियो । बन्द सत्रबाटै नयाँ नेतृत्व चयन हुनेछ । आज पनि पार्टीका अध्यक्ष ओलीले सर्वसम्मतिमा नेतृत्व चयनका लागि नेताहरूसँगको छलफललाई निरन्तरता दिनुभएको छ । सकेसम्म सबै पदाधिकारी सहमतिमा टुंगो लगाउने नभए नेतृत्वमा सहमति जुटाउने प्रयास भए पनि उपाध्यक्ष भीम रावलले अध्यक्षमा दाबी गरेपछि सहमति जुट्न सकेको छैन ।

सहमति नभए चुनाव गराउन पार्टीको केन्द्रीय निर्वाचन आयोगले तयारी गरेको छ । आज बेलुका ६ बजेसम्म उम्मेदवारी दर्ता, दाबी विरोध र फिर्ताको समय रहेको छ । आजै बेलुका साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । भोलि मतदान गर्ने कार्यक्रम तय भएको छ । एमाले सचिव योगेश भट्टराईले पार्टीको आन्तरिक व्यवस्थापनका लागि सहमतिको प्रयास भइरहेको र त्यो आवश्यक रहेको प्रतिक्रिया दिनुभएको छ ।

सर्वसम्मत नेतृत्व चयनको माग गर्दै प्रतिनिधि तथा युवा–विद्यार्थी नेताले सौराहामा प्रदर्शन गरेका छन् । उनीहरुले पार्टीमा एकताबद्ध र सर्वसम्मत नेतृत्व हुनुपर्ने माग गरेका छन् । महाधिवेशनको बन्दसत्रमा मनोनितसहित दुई हजार दुई सय ७५ प्रतिनिधि छन् । एमाले महाधिवेशनको उद्घाटनसत्र हिजो नारायणी नदी किनारमा भएको थियो ।