२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

नेपाली कांग्रेस दाङ : सभापति पदमा शंकरप्रसाद डाँगी र भुप वहादुर डाँगी पुन: चुनाव लड्दै


नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत दाङमा सभापति पदका लागि पुन : चुनाव हुने भएको छ । दाङमा शनिवार नयाँ नेतृत्व चयन गर्नका लागि चुनाव सम्पन्न भएको थियो । सभापति पदमा चुनावी मैदान उत्रिएका ४ जनामध्ये कसैले ५१ प्रतिशत प्राप्त गर्न नसक्दा सभापति पदमा पुन: मतदान हुन लागेको हो । अन्य पदमा निर्वाचित भइसकेको तर सभापतिमा पुन: मतदान हुने निर्वाचन समितिले जनाएको छ । जिल्लामा दुई हजार एक सय ९२ जम्मा मतदाता रहेकोमा शनिवार भएको मतदानमा दुई हजार एक सय ३८ मत खसेको थियो । नेपाली कांग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन लागी ५१ प्रतिशत मत लिनु पर्ने प्रावधान रहेको समितिले जनाएको छ ।

सभापति पदमा शंकर प्रसाद डाँगी, भुप वहादुर डाँगी, कमलकिशोर घिमिरे, जानकीलाल बस्नते चुनावी मैदानमा थिए ।निर्वाचनमा शंकरप्रसाद डाँगीले ७७६ र भुपवहादुर डाँगीले ५४६ , जानकीलाल बस्नेतले ४७१ र कमल किशोर घिमिरेले ३१५ मत पाएका थिए । निर्वाचनबाट सभापतिका उम्मेदवार मध्ये कसैले पनि ५१ प्रतिशत मत पाउन नसकेपछि सर्वाधिक बढी मत ल्याउने दुई उम्मेदवारबीच आज फेरि प्रतिष्पर्धा हुर्दैछ । संस्थापन इतरका शंकरप्रसाद डाँगी र संस्थापन समूहका भूपबहादुर डाँगीबीच आज फेरि निर्वाचन हुने भएको हो । घिमिरले दोस्रो चरणमा आफ्नो समर्थन शंकरलाई रहने बताइसकेका छन् भने बस्नते केही बोलेका छैनन् । आज विहान १० बजे देखि ४ बजे सम्म मतदान हुनेछ ।

यसैगरी उपसभापतिमा भने गिरीराज सुवेदी ९१३ र कमानसिंह भारती ८६६ मत लिएर निर्वाचित भईसेको छन्। सुवेदी संस्थापन इतर र भारती संस्थापन समूहका हुन् । सचिवमा अर्जुनकुमार योगी ११५७ र बालिका लम्साल १००५ मत लिएर निर्वाचित भएका छन् । योगी संस्थापन इतर र लम्साल संस्थापन समूहका हुन् । त्यस्तै सहसचिवमा राजु आचार्य १०५२ र सुवोध कुमार डाँगी १०३४ विजयी भएका छन् । आचार्य संस्थापन इतर र डाँगी संस्थापन समूहका हुन् । सदस्यको गणना  आज बिहानैदेखि शुरु भएको छ । आज रातिसम्म सबै मत परिणाम आउने निर्वाचन समितिले जनाएको छ ।