२०८० चैत्र ६ गते मङ्गलवार
२०८० चैत्र ६ गते मङ्गलवार

एमालेको नयाँ नेतृत्वको लागि चुनावी प्रक्रिया सुरु

चितवनमा भइरहेको नेकपा एमालेको राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि चुनावी प्रक्रिया सुरु भएको छ । अहिले बिहान साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । पछिल्लो कार्यतालिकाअनुसार बेलुकी ९ बजेपछि मात्रै मतदान सुरु हुनेछ । अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच चुनाव हुने नै निश्चित भएको छ । हिजो दिनभर र राति अबेरसम्म पनि नेताहरुसँग छलफल गरेर ओलीले रावललाई उपाध्यक्षमा बस्न आग्रह गर्नुभएको थियो । तर रावलले प्रस्ताव अस्वीकार गर्नुभएको छ । रावललाई मनाउने प्रयास असफल भएपछि आज चुनाव गर्ने तयारी भएको हो । निर्वाचन प्रक्रिया हिजै सुरु हुने कार्यतालिका भए पनि यसमा हेरफेर गरिएको छ । ओलीले सहमतिको प्रस्ताव भन्दै  ३०१ सदस्यीय केन्द्रीय कमिटीको नाम पेस गर्नुभएको छ । गएरातिको बन्द सत्रमा नाम पेस गर्दै उहाँले यो सूचीमा आपत्ति हुनेका लागि चुनाव लड्ने बाटो खुल्ला राखेको जानकारी दिनुभयो । ओलीले यो सूचीमा नपर्नेहरूलाई मनोनयनबाट ल्याउने आश्वासन पनि दिनुभएको छ । यस्तै ओलीले सर्वसम्मतिका लागि भन्दै वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शङ्कर पोखरेलको नाम प्रस्ताव  गर्नुभएको छ । यस्तै ६ जना उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङको नाम प्रस्ताव गरिएको छ । त्यस्तै ३ जना उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाललाई प्रस्ताव गरिएको छ । सात जना सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लेखराज भट्ट, रघुवीर महासेठ, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम प्रस्ताव भएको छ ।
नेताहरु भीम रावल, घनश्याम भुसाल लगायतका नेताहरूको विरोधकाबीच ओलीले राति भएको बन्द सत्रमा यो प्रस्ताव ल्याउनुभएको हो । तर प्रस्तावित नाम अनुमोदन भने भइसकेको छैन । गएको शुक्रवार चितवनमा सुरु भएको एमालेको दशौँ राष्ट्रिय महाधिवेशन हिजै सकिने कार्यतालिका भए पनि सहमतिको प्रयास हुँदा लम्बिएको हो ।