२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

कांग्रेसको प्रदेश अधिवेशन सर्‍यो, मंसिर १८ र १९ गते हुने

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशन सरेको छ । मंसिर १६ र १७ गतेका लागि तय भएको प्रदेश अधिवेशनको मिति दुई दिन पर धकेलिएको निर्वाचन समितिले जनाएको छ ।

समितिका एक सदस्यका अनुसार अब प्रदेश अधिवेशन मंसिर १८ र १९ गते हुनेछ । प्रदेश महाधिवेशनको नयाँ कार्यतालिका अनुसार अब १७ गते उम्मेदवारी दर्ता हुनेछ भने १८ गते अधिवेशन उद्घाटन हुने निर्वाचन समितिले जनाएको छ ।
प्रदेश अधिवेशन सुरु हुनु तीन दिनअघि कांग्रेसले अधिवेशनको मिति सारेको हो । मंगलबार बिहान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल भएको थियो । तीन नेताबीच प्रदेश अधिवेशनको मिति सार्ने सहमति भएको कांग्रेसका एक नेताले जानकारी दिए । प्रदेश अधिवेशन सरे पनि केन्द्रीय महाधिवेशनको मिति भने हेरफेर नभएको निर्वाचन समितिको भनाइ छ ।
कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुँदैछ । केन्द्रीय कार्यसमितिका लागि मनोनयन दर्ता भने मंसिर २१ गते नै हुने निर्वाचन समितिले जनाएको छ ।