२०७८ माघ ४ गते मङ्गलवार
२०७८ माघ ४ गते मङ्गलवार

राप्रपा इतिहासकै जीवन र मृत्युको दोसाँधमा उभिएको छ : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री राजेन्द्र लिङ्देनले पार्टी अहिले इतिहासकै जीवन र मृत्युको दोसाँधमा उभिएको टिप्पणी गरेका छन्। पार्टी एकतापछिको पहिलो महाधिवेशन उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्दै लिङ्देनले भने, ‘राप्रपाको मुद्दा अहिले सर्वाधिक लोकप्रिय बनेको छ। हिन्दु राज्य र राजसंस्थाको पक्षमा ठूलो माग भइरहेको छ। पछिल्लो दुई वर्षमा महाधिवेशनबाहेक पार्टी राष्ट्रिय राजनीतिमा हरायो।’

दुई वर्षमा पार्टीको चल्ने शैली हेर्दा पार्टी कमजोर बन्ने उनको भनाइ छ। अध्यक्षका प्रत्यासी लिङ्देनले प्रतिनिधिलाई आह्वान गर्दै भने, ‘राप्रपाको इतिहासमा जीवन रोज्ने कि मृत्यु रोज्ने भन्ने मोडमा पुगेको छ। अहिले जसोतसो जोडजाड गरेर ३ प्रतिशत पुगे केही मान्छेको पछाडि लागेर मन्त्री बन्न सक्ला तर, राजसंस्था पुनःस्थापना गर्नुको साथै हिन्दु राष्ट पुनर्स्थापना गर्न सकिँदैन।’

सुशासन र भ्रष्टाचारमुक्त मुलुक बनाउने अवसर अहिले आएको उनको भनाइ छ। उनले अध्यक्षत्रयलाई अभिभावक बनेर युवा पुस्तालाई अगाडि बढाउन आग्रह गरे। ‘हाम्रो पार्टी र व्यक्तिको कुरा होइन। हामीले बोकेको मुद्दाको विषयमा पनि प्रश्न उठ्छ। राप्रपाभन्दा बाहिर रहेको समान विचारधारालाई जुटाएर एकजुट हुन आवश्यक छ’ उनले भने।