२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

भोलिदेखि आफू बसेको ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने

निर्वाचन आयोगले भोलिदेखि आफू बसेको ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले अब आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको बताउनुभएको हो । यसअघि मतदाता नामावलीमा नाम समावेश गर्न छुटेकाहरूलाई लक्षित गर्दै निर्वाचन आयोगले नामावली सङ्कलन कार्यक्रम सुरु गर्न लागेको हो ।

७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली सङ्कलन गरिने निर्वाचन आयोगले जनाएको छ । मताधिकारबाट वञ्चित नहुनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले अनुरोध गरेको छ ।
आयोगका अनुसार हिमाली र पहाडी जिल्लाका पालिकामा १० दिनसम्म मतदाता नामावली सङ्कलन कार्य सञ्चालन हुनेछ । त्यस्तै, तराई र काठमाण्डौ उपत्यकाका पालिकामा १५ दिनसम्म सञ्चालन हुनेछ । १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकको मतदाता नामावलीमा नाम समावेश गरिनेछ ।

आफ्नो स्थायी ठेगाना रहेको जिल्लाका निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट नाम दर्ता गर्न मिल्ने आयोगले जनाएको छ । त्यस्तै, रोजगारी वा अध्ययनको सिलसिलामा आफ्नो जिल्लाबाहिर रहेका व्यक्तिले अरु जिल्लाबाट पनि मतदाता नामावलीमा नाम दर्ता गराउन सक्नेछन् ।