२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

विकास र समृद्धिको नेतृत्व नेपाली कांग्रेसले मात्रै गर्न सक्छ : देउवा

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र बलियो भए मात्रै देश समृद्ध हुने भन्दै विकास र समृद्धिको नेतृत्व नेपाली कांग्रेसले मात्रै गर्न सक्ने दाबी गर्नुभएको छ । आज बिहीवार नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।

भर्चुअल कार्यक्रममा उहाँले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रित हुन नेता, कार्यकर्तालाई निर्देशन पनि दिनुभएको छ । प्रधानमन्त्री देउवाले केही महिनाभित्रै पालिका तथा एक वर्षभित्र सङ्घ र प्रदेशको चुनाव हुने भन्दै पार्टीको अधिवेशनलगत्तै चुनावतर्फ केन्द्रित हुन निर्देशन दिनुभएको हो । उहाँले पार्टीभित्रको आन्तरिक चुनावमा हुने हाररजित स्वाभाविक प्रक्रिया र लोकतान्त्रिक अभ्यास भएको भन्दै आउँदा दिनमा नागरिकको विश्वास जित्ने गरी चुनावमा केन्द्रित हुन नेतारकार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘हामी केही महिनाभित्रै पालिकाको निर्वाचन, एक वर्षभित्र सङ्घ र प्रदेशको चुनावमा जाँदैछौँ । त्यसैले पनि अधिवेशनलगत्तै हाम्रो ध्यान चुनावतर्फ केन्द्रित हुनुपर्दछ । हाम्रा आन्तरिक चुनावमा हुने जित/हार एउटा स्वाभाविक प्रक्रिया हो, लोकतान्त्रिक अभ्यास हो । त्यसैले तपाईँहरूले आन्तरिक प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासका रूपमा लिएर आउँदा दिनमा नागरिकको विश्वास जित्ने गरी चुनावमा केन्द्रित हुनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’ प्रधानमन्त्री देउवाले प्रदेश अधिवेशनमा नेपाली कांग्रेसलाई थप सशक्त र बलियो बनाएर नागरिकको मन जित्ने रणनीति बनाउने विषयमा पनि छलफल गर्न आग्रह गर्नुभयो ।