२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

भारतको तमिलनाडुमा हेलिकोप्टर दुर्घटना : ५ जनाको मृत्यु

छिमेकी राष्ट्र भारतको तमिलनाडुमा बुधबार (आज) भारतीय पूर्वसेना प्रमुख विपिन रावत चढेको हेलिकोप्टर दुर्घटनामा परेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार तमिलनाडुको कोइम्बटूर र सुलुरको बीचमा एमआई–१७ वी भी५ हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो ।

उक्त हेलिकोप्टरमा पूर्वसेना प्रमुख विपिन रावत र उनकी श्रीमती मधुलिका रावत सवार थिए । जनरल रावतलाई अस्पताल लगिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर, हालसम्म पनि जनरल राउतको स्वास्थ्य स्थिति के–कस्तो छ भन्ने कुनै जानकारी गराइएको छैन । यस दुर्घटनामा ५ जनाको मृत्यु भइसकेको र केही गम्भीर घाइते भएका बताइएको छ ।
यस दुर्घटनाबारे भारतीय रक्षमन्त्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीलाई जानकारी गराएका छन् । उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका ३ जनालाई अस्पताल लगिएको वेब दुनियाले जनाएको छ । उनीहरुको ८० प्रतिशत शरीर जलिसकेको अवस्थामा भेटिएको थियो ।

९ जना सवार थिए

वेब दुनियाका अनुसार दुर्घटनाग्रस्त एमआई–१७ भी५ हेलिकोप्टरमा सीडीएस जनरल विपिन रावत र उनका श्रीमती मधुलिका रावतसहित ९ जना सवार थिए । रावत दम्पतीका साथै उक्त हेलिकोप्टरमा ब्रिगेडियर एलएस लिड्डर, ले.कर्नल हरजिंदर सिंह, हवलदार सतपाल, नायक गुरुसेवक सिंह, नायक जितेन्द्र कुमार लांस, नायक विवेक कुमार र लांस नायक बी साई तेजा पनि सवार थिए ।
अहिले पनि रेस्क्यू अपरेशन जारी रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।